आज चारवटा समितिको बैठक बस्दै, संसदीय सुनुवाइ समितिमा प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ सुरु हुने


काठमाडौं, असार २५ । संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । आज संसदीय सुनुवाइ समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।

अहिले बिहान साढे ९ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा सुनुवाइ प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको छ ।

त्यसैगरी, अहिले बिहान ८ बजेदेखि सुरु हुने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत अनुसन्धान केन्द्र एवं कार्यक्रमहरुको संसदीय अनुगमन टोलीद्वारा गरिएका स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमको समीक्षा गर्ने कार्यसूची रहेको छ ।

बिहान साढे ८ बजे सुरु हुने कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितको प्रतिवेदन–२०८३ पेस र छलफल गर्ने कार्यक्रम छ ।

यस्तै, विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरुको मानवअधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको समयावधि थप गर्ने विषयमा छलफल हुनेछ ।

त्यस्तै, बिहान ९ बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कार्यविधिका सम्बन्धमा छलफल गर्ने तयारी छ ।