काठमाडौँ । सरकारले कर्मचारीहरूका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको आचरण र व्यवहारलाई निष्पक्ष, सदाचारयुक्त, अनुशासित र मर्यादित बनाई कार्यसम्पादन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन आचारसंहिता लागू गरिएको हो ।
मन्त्री प्रतिभा रावलस्तरीय निर्णयबाट असार १६ गते स्वीकृत भएको र असार २२ गतेबाट कार्यान्वयनका लागि सबै महाशाखा र निकायहरूमा पठाइएको आचारसंहितामा कर्मचारीहरूलाई सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरेको छ । कर्मचारीले कार्यालयको काममा रहेको समयमा कार्यालय परिसर वा फिल्डमा खटिएको अवस्थामा कार्यालयको पोसाकमा खिचिएका फोटो वा भिडियोहरू सामाजिक सञ्जालमा राख्न नपाउने आचार संहितामा उल्लेख छ । तर, शिक्षामूलक वा सूचनामूलक सामग्रीका हकमा भने यो नियम लागू नहुने आचारसंहितामा लेखिएको छ ।
फेसबुक, ट्वीटर, ह्वाट्सएप, टिकटक जस्ता सञ्जालहरू प्रयोग गर्दा सेवाको मर्यादा र आस्थामा आँच नआउने गरी व्यावसायिक सतर्कता अपनाउनुपर्ने सर्त पनि आचार संहितामा राखिएको छ । सरकारको नीति र कार्यक्रमको प्रतिकूल हुने गरी लेख रचना प्रकाशित गर्न वा सामाजिक सञ्जालमा टिप्पणी गर्न समेत रोक मन्त्रालयले रोक लगाएको छ ।
कार्यस्थल भन्दा बाहिर सेवाग्राहीसँग भेटघाट गर्न प्रतिबन्ध लगाइएको छ। कर्मचारीले कुनै पनि सेवाग्राहीको प्रतिनिधि वा एजेन्ट भएर काम गर्न पाउने छैनन् र पदको दुरुपयोग गरी व्यक्तिगत वा पारिवारिक लाभ लिन नपाउने आचारसंहितामा उल्लेख छ ।



प्रतिक्रिया