काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई मुलुकको मुख्य आर्थिक आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
मन्त्रालय सम्हालेको १०० दिन पूरा भएको अवसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले किसानका समस्या समाधान र कृषि क्षेत्रको आधुनिकीकरणका लागि भएका प्रयासबारे जानकारी दिएकी हुन्।
मन्त्री चौधरीले सबै पक्षको सहकार्य र अर्थ मन्त्रालयको सहयोगमा समयमै रासायनिक मल भित्र्याउन सफल भएको उल्लेख गरिन्। बजेट निर्माणको सन्दर्भमा कृषि क्षेत्र सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्दै उनले किसानको हित र मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट आवश्यक स्रोत सुनिश्चित हुने आश्वासन प्राप्त भएको बताइन्।
कृषि क्षेत्रमा व्याप्त बिचौलियाको अन्त्य गर्न कृषि विधेयकमा नीतिगत सुधार गरिएको जानकारी दिँदै उनले किसानको हितलाई केन्द्रमा राखेर काम भइरहेको बताइन् । साथै, दुग्ध उत्पादक किसानको बक्यौता भुक्तानीका सन्दर्भमा सरकार गम्भीर रहेको र हाल दैनिक करिब १ करोड रुपैयाँका दरले भुक्तानी भइरहेको समेत उनले जानकारी दिएकी छन्।



प्रतिक्रिया