साना व्यवसायीले अनुदानबारे जानकारी नै पाउँदैनन्: अनुश्का श्रेष्ठ


काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुश्का श्रेष्ठले जानकारीको अभावमा नागरिकले सरकारले उपलब्ध गराएको अवसर उपयोग गर्नबाट वञ्चित हुनु परेको बताएकी छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपालको अवसरको कमी नभएको तर सामान्य नागरिकले त्यसको जानकारी नपाउँदा समस्या हुने गरेको बताइन् ।

‘नेपालका साना तथा मझौला उद्योग हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन् । नेपालको करिब ९८ प्रतिशत व्यवसाय यही व्यवसाय हुन, जसले अर्थतन्त्रमा करिब २२ प्रतिशत योगदान पुर्याएको छ । सरकारले पनि यसमा राम्रो नीति ल्याइरहेको अवस्था छ । तर आज हामीले कुनै उद्यमीलाई उद्यम गर्न चाहने युवा, महिला अथवा गरिरहनु भएकोलाई सोध्यो भने कि सरकारबाट तपाईँले पाउनु हुने अनुदान, तालिम, सर्पोट सिस्टम कसरी लिइरहनु भएको छ भनेर सोध्दाखेरि जवाफ आउने गरेको छ–के पाउँछौँ, इन्फरमेशन पाउन नै गाह्रो छ । हाम्रो चुनौती यही नै हो,’ उनले भनिन् ‘नेपालमा अवसरको कमी हुँदै होइन । अवसरको जानकारी पहुँच भने अझ पनि सीमित छ । अव हामीले नीति बनाउनेसँगै नीति नागरिकसम्म पुर्याउने क्षमता पनि विकास गर्नु पर्दछ।’