काठमाडौँ । प्रतिनिधिसभाको गत जेठ १७ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सभामुख डोलप्रसाद अर्याललाई प्राप्त विशेषाधिकारको प्रयोग गर्न सुझाव दिएको छ ।
समितिले अमर्यादित र उत्तेजक शब्द प्रयोग भएको अवस्थामा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्दै त्यस्ता अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्ने सम्मका व्यवस्थालाई कार्यान्वयन गर्न सुझाव दिएको हो ।
समितिले अभिमुखीकरण तथा आचारसंहिता सम्बन्धी सचेतना अभिवृद्धि, दलीय नेतृत्व र प्रमुख सचेतकहरूको भूमिकालाई प्रभावकारी बनाउने, सुरक्षा तथा प्रविधि व्यवस्थापनमा सुधार गर्ने, अन्तर्राष्ट्रिय असल अभ्यासहरूको अनुकरण गर्ने, आचरण अनुगमन समितिलाई सक्रिय बनाउने सुझाव दिएको छ ।
जेठ १७ गते प्रतिनिधिसभा नियमावली पारित गर्दा सदनमा धकेलाधकेल भएको थियो । जेठ १८ गते बैठकमा सभामुखले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी संयोजक रहेको समिति गठन गरेका थिए । जसमा आन्तरिक स्रोत तथा योजना व्यवस्थापन महाशाखा प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल सदस्य रहेका थिए ।
समितिले स्थलगत मुचुल्काको अध्ययन, श्रव्यदृश्य प्रमाण संकलन, प्रत्यक्षदर्शीको बयान तथा सम्बन्धित दस्तावेजहरूको विश्लेषण गरी प्रतिवेदन तयार पारेको हो । समितिलाई प्रतिवेदन पेस गर्न सात दिनको समय दिइएको थियो । समितिले गत जेठ २५ गते प्रारम्भिक प्रतिवेदन सभामुख अर्याललाई बुझाएको थियो



प्रतिक्रिया