गणेशले दाजुलाई भनेका अन्तिम शब्द- ‘यो सबको कारण ट्राफिक हो’


काठमाडौँ । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ ।

वीर अस्पतालमा उपचाररत उनको आज (शुक्रबार) बिहान साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनको शरीरको करिब ६५–७० प्रतिशत भाग जलेको थियो ।

मृत्युअघि उनले आफ्ना दाजु मदन नेपालीसँग छोटो संवाद गर्दै परिवारको हेरचाह गर्न आग्रह गरेको थिए । साथै उनले आफ्नो यस्तो अवस्थाको कारण ट्राफिक भएको बताएका थिए ।

मृतकका दाजुका अनुसार गणेशले अन्तिम पटक भनेका थिए, ‘दाजु, ममी–बाबालाई राम्रो गर्नु । म यो सबको कारण ट्राफिक हो ।’ त्यसपछि उनी थप बोल्न नसकेको गणेशका दाजु मदन नृपालीले बताए ।

दाजुका अनुसार गणेश नै परिवारको मुख्य आर्थिक आधार थिए । उनले कृषि जेटीए अध्ययन गरे पनि रोजगारीको अवसर नपाएका कारण पठाओ चलाएर जीविकोपार्जन गर्दै आएका थिए ।

‘पारिवारिक आर्थिक अवस्था भनेको त्यही सबै अब भाइले नै थियो । हुन त भाइ पनि कृषि जेटीए पढेको हो तर अब हामी गरिबलाई जागिर खाने अवस्था पनि छैन । अब यही धन्न धन्न बाइकमा मुगुको जग्गा लालपुर्जा धरौटी राखेर पनि बाइक किस्ताबन्दी निकालेको थियो । ३ महिना भयो । अब त्यही किस्ताबन्दीको बाइकलाई आज अब यस्तो गरे। अब त्यही नै हो आर्थिक अवस्था त्यस्तै छ,’ उनले भने ।