काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुगुका गणेश नेपालीको आत्मदाहको घटनालाई समाजमा व्याप्त चरम नागरिक निराशाको प्रतिनिधि रूप भन्दै वर्तमान सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उपसभापति शर्माले पुराना दलहरू हटेर ‘नयाँ’ भनिएको रास्वपा सत्तामा आउँदा पनि समाजमा आशा जगाउन नसकिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
‘हामी पुराना गएर नयाँ आएपछि पनि समाजमा होप क्रिएट (आशा जगाउने काम) किन हुन सकिरहेको छैन ? यसको गहिराइमा गहन दृष्टि जरुरी छ,’ शर्माले उल्लेख गरेका छन् । उनले समाजमा आशा मर्दै गएमा व्यवस्था र राज्यप्रतिको विश्वास जीवित रहन नसक्ने चेतावनीसमेत दिएका छन् ।
प्रधानमन्त्री बालेनलाई आग्रह गर्दै शर्माले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, गम्भीरताप्रति गम्भीर बन्नुहोस् । हिजो हाम्रा शीर्ष नेताहरूले सबै ठिकठाक भइरहेको छ भन्ठाने, जसको परिणाम नकारात्मक निक्लियो । आज फेरि त्यही गल्ती दोहोरिँदै छ ।’
रास्वपा सभापति लामिछानेको भूमिकामाथि प्रश्न उठाउँदै शर्माले सोधेका छन्, ‘रास्वपा सभापतिज्यू, के सबै ठिकठाक भइरहेको दृश्य हो यो ? सरकार आशाको होइन, त्रासको प्रतीक किन बन्दैछ ?’



प्रतिक्रिया