गणेश नेपालीको मृत्युलाई लिएर काठमाडौँमा विद्यार्थी संगठनको प्रदर्शन


काठमाडौँ । आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय दिनुपर्ने माग गर्दै संयुक्त विद्यार्थी संगठनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले उनको मृत्युको जिम्मेवार काठमाडौँ महानगरपालिका (बालेन सरकार) रहेको आरोप लगाएका छन् ।

माइतीघरमा भेला भएका विद्यार्थीहरूले ‘गणेश नेपालीको हत्यारा बालेन सरकार हो’ जस्ता नाराबाजी गर्दै विरोध जनाएका थिए ।

प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच केही बेर धकेलाधकेलसमेत भएको थियो । आन्दोलनकारीहरू अगाडि बढ्न खोज्दा प्रहरीले घेरा हालेर उनीहरूलाई रोक्ने प्रयास गरेको थियो । स्थिति नियन्त्रणमा लिन माइतीघर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।