काठमाडौँ । गणेश नेपालीको आत्मदाह प्रकरणले देशलाई स्तब्ध बनाएका बेला वरिष्ठ पत्रकार एवं स्वतन्त्र नागरिक अभियान नेपालका अध्यक्ष ऋषि धमलाले राज्यको गम्भीर ध्यानाकर्षण गराएका छन् । राजधानीमा पत्रकारसँग धमलाले पीडित परिवारलाई तत्काल न्याय दिन र युवाहरूको समस्या समाधान गर्न सरकारसँग जोडदार माग गरे ।
घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै धमलाले भने, ‘यो अत्यन्तै पीडादायी र दुःखद् घटना हो । यस्तो परिस्थिति आएपछि मलाई धेरै बोल्न पनि मन छैन, तर सत्य भन्नैपर्छ- गणेश नेपाली र उनको परिवारले न्याय पाउनैपर्छ ।’
देशमा करिब दुई तिहाइको शक्तिशाली सरकार भए पनि जनताको अपेक्षा पूरा हुन नसकेको र यस घटनाले राजनीतिमा ठूलो तरङ्ग पैदा गरेको उनको भनाइ थियो ।
प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियताप्रति सङ्केत गर्दै धमलाले थपे, ‘प्रधानमन्त्रीज्यूलाई सबै कुरा थाहा छ, गृहमन्त्रीज्यू रातभरि खटिनुभएको छ । तर अब सरकार पीडितको पक्षमा दह्रोसँग उभिनुपर्छ । घटनाको सत्य-तथ्य पत्ता लगाएर दोषीलाई कानुनी कठघरामा ल्याउनैपर्छ ।’
वरिष्ठ पत्रकार धमलाले देशमा ठूलो सङ्ख्यामा रहेका युवाहरू रोजगारी नपाएर छट्पटिएको यथार्थ औँल्याउँदै एउटा नेपाली नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था कसरी आयो भन्नेबारे गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए । विगतमा प्रेम आचार्यको आत्मदाह हुँदा पनि राज्य अक्षम देखिएको स्मरण गराउँदै उनले अब त्यस्तो कमजोरी दोहोरिन नहुने बताए ।
‘जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई करिब दुई तिहाइ मत दिएर नेतृत्व गर्ने अवसर दिएका छन्,’ धमलाले भने, ‘अब राज्य दीन-दुःखी, गरिब र युवाहरूको सच्चा अभिभावक बन्नुपर्छ ।’
उनले मृतक गणेश नेपालीको परिवारलाई राज्यले विशेष व्यवस्था र रोजगारी दिनुपर्ने धमलाले माग गरे ।
यो संवेदनशील मुद्दालाई किनारा लगाउन गठित उच्चस्तरीय छानबिन आयोगले सत्य-तथ्य सार्वजनिक गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने धमलाको प्रस्ट माग छ ।



प्रतिक्रिया