वधशाला ऐन लागू गर्न कृषि मन्त्रीको निर्देशन


काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला र मासु जाँच ऐन, २०५५ कार्यान्वयन गर्न निर्देशन दिएकी छन् ।

शुक्रबार काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफलका क्रममा उनले प्रक्रिया सुरु गरेर प्रभावकारी रुपमा ऐन कार्यान्वयनका लागि निर्देशन दिएकी हुन् ।

मन्त्री चौधरीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले स्वच्छ, गुणस्तरीय र परीक्षण गरिएको मासु उपभोग गर्ने नागरिकको अधिकार सुनिश्चित गर्न ऐन कार्यान्वयन अपरिहार्य रहेको बताइन् ।

उनले सर्वोच्च अदालतले समेत ऐन कार्यान्वयनका लागि परमादेश जारी गरिसकेको उल्लेख गर्दै सङ्घ, प्रदेश र स्थानीय सरकार सबैले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।