सत्ता जुन दलको भए पनि देशको परराष्ट्र नीति एउटै हुनुपर्छ : सांसद धिताल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले सरकारमा जुनसुकै दल रहे पनि मुलुकको परराष्ट्र नीति एउटै र स्थिर हुनुपर्ने बताएकी छन् ।

फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल–चाइना फ्रेन्डसिप फोरमले सोमबार आयोजना गरेको ‘चीनको शासन सञ्चालनका प्राथमिकता र नेपाल–चीन सम्बन्धमा त्यसको प्रभाव’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेकी हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकसम्बन्धी गोष्ठीमा सांसद धितालले राजनीतिक क्षेत्रमा सक्रिय युवा नेताहरूले विगत र वर्तमानका विषयमा मात्रै सीमित नभई भविष्यका सम्भावना र चुनौतीबारे पनि बहस गर्नुपर्ने बताइन् ।

उनले विशेषगरी परराष्ट्र नीतिजस्तो संवेदनशील विषयमा युवाहरूबीच गम्भीर र सार्थक छलफल हुन आवश्यक रहेकोमा जोड दिइन् ।

मुलुकको परराष्ट्र नीति कुनै एउटा राजनीतिक दलको प्राथमिकतामा मात्र आधारित नभई राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।