इरानलाई ट्रम्पको चेतावनी : हजारौँ मिसाइल तयार छ



काठमाडौं । अमेरिका र इरानबीच फेरि वार्ताको तयारी भइरहेका बेला खाडी क्षेत्रमा तनाव पुनः बढेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश वार्ता जारी राख्न सहमत भएको बताएका छन् । तर, उनले अघिल्लो महिनाको युद्धविराम अब प्रभावहीन भइसकेको उल्लेख गरेका छन् । आवश्यक परे इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न अमेरिका तयार रहेको उनले चेतावनी दिएका छन् ।

यही हप्ता कतार र साउदी अरेबियानजिक तीन व्यावसायिक तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको थियो । त्यसको प्रतिक्रियास्वरूप अमेरिकाले इरानका विभिन्न स्थानमा हवाई हमला गरेको थियो । त्यसको जवाफमा इरानले खाडी क्षेत्रस्थित अमेरिकी सैन्य अड्डाहरूलक्षित मिसाइल प्रहार गरेको थियो ।

इरानले वार्ताको प्रस्ताव गरेको र अमेरिका त्यसनिम्ति सहमत भएको ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा जनाएका छन् । तर, उनले युद्धविराम समाप्त भइसकेको भन्दै इरानलाई कडा सन्देश दिइएको उल्लेख गरेका छन् ।

वाल स्ट्रिट जर्नललगायत अमेरिकी सञ्चारमाध्यमले हालै इरानले ट्रम्पको हत्या गर्ने षड्यन्त्र रचेको दाबी गरेका छन् । त्यसप्रति प्रतिक्रिया दिँदै ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, “यदि, इरानले अमेरिकाका वर्तमान राष्ट्रपतिमाथि आक्रमण गर्ने आफ्नो धम्की व्यवहारमा उतारे हजारौँ मिसाइलमार्फत तत्काल जवाफ दिइनेछ ।”

ट्रम्पले अमेरिकी सेना पूर्ण रूपमा तयारी अवस्थामा रहेको भन्दै इरानका रणनीतिक लक्ष्यमा व्यापक आक्रमण गर्न सकिने चेतावनी पनि दिएका छन् ।

ट्रम्पका पछिल्ला अभिव्यक्तिप्रति इरानले औपचारिक प्रतिक्रिया जनाएको छैन । यद्यपि, दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीईको अन्त्येष्टिमा सहभागी केही व्यक्तिहरूले बिहीबार ट्रम्पविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनकारीले अमेरिकाविरोधी नारासहितको ब्यानर पनि प्रदर्शन गरेका इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

हाल अमेरिका–इरानबीचको प्रमुख विवाद होर्मुज जलमार्ग बनेको छ । विश्वको करिब २० प्रतिशत तेल यही समुद्रीमार्गबाट ओसारपसार हुने भएकाले यसको सुरक्षा विश्व अर्थतन्त्रका निम्ति अत्यन्त महत्त्वपूर्ण मानिन्छ ।

इरानले उक्त मार्ग हुँदै जाने जहाजमाथिको हस्तक्षेप बन्द गर्नुपर्नेमा अमेरिकाले जोड दिँदै आएको छ । अमेरिकी अधिकारीले जलमार्गलाई सबै जहाजका निम्ति अवरोधरहित रूपमा सञ्चालन हुने सार्वजनिक प्रतिबद्धता गर्न पनि इरानलाई आग्रह गरेका छन् ।

इरानका विदेशमन्त्री अब्बास अराघची होर्मुज जलमार्गमा जहाजहरूको सुरक्षित आवागमनबारे छलफल गर्न शनिबार ओमान पुगेका छन् ।

ट्रम्पले वार्ताको पहल इरानले गरेको जिकिर गरेका छन् । तर, इरानले त्यसलाई अस्वीकार गरेको छ ।