काठमाडौं, असार २७ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले सुकुम्वासी र जेनजी अभियन्तामाथि सरकारले गरेकाे व्यवहारप्रति माफी मागेका छन्। उनले जनता निकै नै पीडामा रहको र धेरैजना परिवार नै छोडेर विदेश जानुपरेको, जागिर खोज्दै सहरमा भौँतारिनुपरेको र शरीरमा रोग बोकेर परिवार पाल्न दिनरात नभनी सहरमा कुद्नु परेको अवस्थामा त्यति गर्दा पनि परिवार त परै जाओस्, आफ्नै शरीर धान्न पनि धौ(धौ भएकाले दशकौँदेखिको यो ज्वरो एक हप्तामै निको होस् भन्ने चाहना हुनु स्वाभाविक रहेको जनाएका छन् ।
उनले जनतालाई पनि ३ महिनामै सरकारप्रति अत्यधिक धेरै अपेक्षा नराख्न र सरकारलाई पनि ५ वर्षको काम ५ महिनामै पूरा गर्ने हतार नगर्न आग्रह गर्दै समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, हामी जति माथि जान्छौँ, जति गति बढाउँछौँ र जनताले जति धेरै शक्ति दिन्छन्, त्यति नै धेरै विनम्रता, करुणा, माया, झुकाव, तयारी, योजना र दूरदर्शिताको आवश्यकता पर्दछ।
जनता पनि निकै नै पीडामा छन्, भुइँतह त ध्वस्त नै छ। धेरैजना परिवार नै छोडेर विदेश जानुभएको छ, जागिर खोज्दै सहरमा भौँतारिनुभएको छ। शरीरमा रोग बोकेर परिवार पाल्न दिनरात नभनी सहरमा कुद्नुभएको छ; त्यति गर्दा पनि परिवार त परै जाओस्, आफ्नै शरीर धान्न पनि धौ-धौ छ।
मिल्यो भने दशकौँदेखिको यो ज्वरो एक हप्तामै निको होस् भन्ने चाहना हुनु स्वाभाविक हो। हामीलाई पनि ५ वर्षको म्यान्डेट दिनुभएको हो, तर ३ महिना पनि नपुग्दै कामै गरेन भनेर गुनासो गर्नुभएको छ। जनताको यो आकांक्षा हुनु स्वाभाविक हो।
जनताको तीव्र आकांक्षाअनुसार सरकारले पनि तीव्र गतिमा डेलिभरी गर्नुपर्दछ भनेर सकेसम्म छिटो परिवर्तन ल्याउन कस्सिएको छ। तर, जनता र सरकार दुवै मिलेर कतै डिजाइन नै नगरी ५ तल्ले घर बनाउन थालेका त छैनौँ?
पहिले राम्रोसँग नक्सा कोरौँ— खर्च कति लाग्छ, समय कति लाग्छ, जग्गा कस्तो छ, कुन मोहोडामा छ, मिस्त्री र ज्यालादारीको अवस्था कस्तो छ, ती सबै सोचिसकेपछि मात्र घर बनाउन जग हाल्ने कामबाट सुरु गर्नुपर्दछ। अनि बल्ल बलियो घर बन्ने हो।
मेरो सरकार र जनता दुवैलाई अनुरोध छ— तयारी व्यापक गरौँ, अनि मात्र पाइला चालौँ। ३ महिनामै जनताले पनि अत्यधिक धेरै अपेक्षा पनि नगरौँ र ५ वर्षको काम ५ महिनामै पूरा गर्न सरकारको तर्फबाट पनि हतार नगरौँ। समय छ, धैर्य राखौँ। रोग व्यापक छ, त्यसैले पूरै शरीर जाँच गरेर, १५०० मोडेल लगाएर योजना बनाएर, निकै नै करुणा र दयाभावका साथ मात्र रोगको निर्मम अपरेसन गरौँ। पूरै डिटेल डिजाइन र विस्तृत योजना बनाएर मात्र घर बनाउन थालौँ।
सुकुम्बासी बस्ती र आज हाम्रै साथीहरूमाथि सरकारको तर्फबाट हुन गएको असुविधा साह्रै कारुणिक छ, आत्महत्या बढ्दै गएको छ। हामीलाई जनताले हाम्रो देश निकै नै कठिन र अस्तव्यस्त मोडमा सुम्पिनु भएको छ। सजिलो छैन तर हामी सफल हुन चाहन्छौँ।म मेरो तर्फबाट भएका कमी-कमजोरीप्रति नेपाली जनतासँग माफी माग्न चाहन्छु।



प्रतिक्रिया