काठमाडौं, असार २८ । आज देशभरको मौसममा व्यापक बदलाव आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो देशभर अधिकांश बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने देखिन्छ। यसका साथै मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
रातिको समयमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै र बाँकी हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णालीको पहाडी र सुदूरपश्चिमका पहाडी एवं तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेकाले नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका स्थानमा उच्च सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।



प्रतिक्रिया