कैलाली । पानीको सतह बढ्न थालेपछि कैलालीका नदीमा डल्फिनको चहलपहल देखिएको छ । कर्णालीका सहायक नदीअन्तर्गत टीकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन् ।
नदीमा जलस्तर बढेसँगै बच्चा हुर्काउन आउने डल्फिन देखिन थालेका संरक्षणकर्मी भोजराज ढुंगानाले बताए । “यस वर्ष पहिलोपटक असार १६ गते एउटा बच्चासहित तीनवटा डल्फिन देखिएका थिए । वर्षा ढिलो भएकाले अघिल्ला वर्षको तुलनामा ढिला गरी डल्फिन आएको हो,” उनले भने ।
काँढा नदीमा पानीको सतह न्यून रहेकाले डल्फिन देखिएका थिएनन् । टीकापुर–७ र भजनी–८ को मोहना र पथरैया नदीको दोभानमा डल्फिन नियमित देखिन थालेका छन् ।
कर्णालीका सहायक नदी मोहना, पथरैया, काँडा र कान्द्रालगायत क्षेत्रमा हरेक वर्ष मनसुनका बेला डल्फिन देखिन्छ । नेपाल र भारतका विभिन्न नदी प्रणालीमा बसोबास गर्ने डल्फिन मनसुन अवधिभर कर्णालीका सहायक नदीमा रहन्छन् । करिब तीन महिनापछि ती पुनः कर्णाली नदीतर्फ फर्कने गरेको संरक्षणकर्मी ढुंगानाले जानकारी दिए ।
डल्फिनका मुख्य आहारा माछा, घोँगी तथा लेउ हो । यहाँ पाइने प्लाटानिस्टा ग्यांगेटिका प्रजातिको डल्फिन हो । नेपालसँगै भारत, पाकिस्तान र बंगलादेशमा मात्र पाइने यो दुर्लभ जलचर हो ।
संरक्षणका निम्ति विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), तराई भू परिधि कार्यक्रम, विश्व संरक्षण संघ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय पहलमानपुर, टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
कर्णाली नदीमा पहिलोपटक ०५४ सालमा डल्फिन अभिलेख गरिएको थियो । स्थानीय भोजराज श्रेष्ठ (गुलेली बाजे)ले पहिलोपटक डल्फिन देखेपछि यसको प्रचारप्रसार र संरक्षण अभियान सुरु गरेका थिए ।
मनसुनका बेला डल्फिन अवलोकन गर्न भारत, चीन, थाइल्यान्ड, जापान, अमेरिकालगायत मुलुकबाट पर्यटक आउने गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले डल्फिनलाई संरक्षित वन्यजन्तुको सूचीमा समावेश गरेको छ । रासस



प्रतिक्रिया