बाढीले सडक बगाउँदा घान्द्रुकमा ३०० पर्यटक अलपत्र


कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाएपछि पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका करिब ३०० जना पर्यटक अलपत्र परेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमाना स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाउँदा नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको हो । अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिएर आएको बाढीका कारण मोदी खोला उर्लिँदा घान्द्रुक जोडिने मुख्य सडक सम्पर्क टुटेको छ ।

सडक बन्द भएपछि सवारी साधन लिएर घान्द्रुक पुगेका पर्यटकहरू बीचमै रोकिएका हुन् । पैदल यात्रीका लागि समस्या नभए पनि गाडी लिएर जानेहरू समस्यामा परेका छन् । घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङका अनुसार तीन दिने बिदा मनाउन पुगेका पर्यटकहरू सडक अवरुद्ध भएपछि बाटो खुल्ने प्रतीक्षामा छन् । आफ्नै सवारी साधनमा आएका पर्यटकका लागि साना गाडी चल्न सक्ने वैकल्पिक मार्गको खोजी भइरहेको उनले बताए ।

मोटरसाइकल र स्कुटरमा गएका पर्यटकहरूलाई घान्द्रुक–खुलिबाङ–मोहरिया–तमु हुँदै विरेठाँटी निस्कने कच्ची सडकबाट पठाउनका लागि हाल बाटो मर्मतको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले घान्द्रुक र अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा गएका पर्यटकहरू समस्यामा परेपछि सडक खुलाउन स्थानीय प्रशासन र प्राविधिक टोली स्याउलीबजार पुगिसकेको जानकारी दिए । पानी पर्न कम भएसँगै नदीको बहाव घट्दै गएकाले सडक बगाएकै स्थानबाट एकतर्फी रूपमा भए पनि यातायात सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।

अन्नपूर्ण गाउँपालिका–११ मा पर्ने घान्द्रुक गाउँ अन्नपूर्ण आधार शिविर (एबिसी) र घोरेपानी–पुनहिल पदयात्राको मुख्य प्रवेशद्वार मानिन्छ ।- रासस