काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष, सदस्य तथा सचिवहरूले ‘जेन्जी आन्दोलन’ सँग सम्बन्धित मानव अधिकार उल्लंघनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । पूर्व आयुक्त समाज, राष्ट्रिय मानव अधिकार आयोगले वर्तमान अध्यक्ष तपबहादुर मगरलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।
२०८२ भदौ २३ र २४ गते देशमा घटेका दुर्भाग्यपूर्ण र दुखान्त घटनाहरूको छानबिन गर्न आयोगकै संयोजकत्वमा गठित समितिले बुझाएको विस्तृत प्रतिवेदनलाई संक्षिप्त रूपमा मात्र सार्वजनिक गरिएको प्रति समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पूर्व आयुक्तहरूका अनुसार ६ सय पृष्ठमा लेखिएको मूल प्रतिवेदन र संकलित बयान लगायतका आवश्यक कागजात सहितको कुल १० हजार पृष्ठको मानव अधिकार उल्लंघनको विस्तृत प्रतिवेदनलाई आयोगले केबल ३० पृष्ठको संक्षिप्त सारांशमा सीमित गरेर सार्वजनिक गरेको छ ।
`सार्वजनिक गरिएको संक्षिप्त सारांश प्रतिवेदनमा समावेश घटना र सिफारिसले कतिपय गम्भीर प्रश्नहरू उब्जाएको छ,´ध्यानाकर्षण पत्रमा भनिएको छ, `यस्तो अवस्थामा विगतमा आफ्नो विश्वसनीयता स्थापित गर्दै संवैधानिक निकाय बन्न सक्षम र अन्तर्राष्ट्रिय स्तरमा ‘ए’ (A) ग्रेड प्राप्त राष्ट्रिय मानव अधिकार संयन्त्रको गरिमा जोगाउन पूर्ण प्रतिवेदन सार्वजनिक गरिनु आवश्यक छ ।´
पूर्व आयुक्त समाजले साक्षीको सुरक्षा र अन्य अत्यन्त संवेदनशील विषयहरू बाहेक समग्र प्रतिवेदनलाई ढिला नगरी सर्वसाधारणका लागि सार्वजनिक गर्न राष्ट्रिय मानव अधिकार आयोग समक्ष जोडदार माग गरेको छ ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका नेता तथा तत्कालिन् गृहमन्त्री रमेश लेखकलगायतले पनि पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै आयोगसकक्ष निवेदन दिएका छन् ।




प्रतिक्रिया