बर्दिबास । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अलोकतान्त्रिक भएको आरोप लगाएका छन्। महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुरा गर्दै उनले पत्रकारमाथि प्रहरी लगाएर धरपकड गर्नु गलत भएको बताएका हुन्।
प्रचण्डले सरकारको कार्यशैलीप्रति आम नागरिक र बौद्धिक समुदाय असन्तुष्ट हुन थालेको दाबी गरे। अब गाउँगाउँमा पुगेर सरकारको कार्यशैलीबारे जनतालाई बुझाउने काम पार्टीले गर्ने उनले बताए।
उनले भने, ‘आम जनताले महसुस गर्न थालिसके। बौद्धिक समुदाय त स्पष्ट भइसकेकै छ। नेपालका सबै बुद्धिजीवीहरूले कुरा बुझिसके। हावामा भोट हालिएछ, हुरी बतास मात्रै रहेछ यो भनेर। तर, गाउँगाउँका जनतालाई बुझाउन अझै बाँकी छ। त्यो काम चाहिँ हामी गर्छौं।’
यसैबीच, मधेस प्रदेश सरकार गठनबारे बोल्दै प्रचण्डले एमालेले समर्थन फिर्ता लिनुअघि आफूहरूसँग छलफल गरेको बताए। नयाँ राजनीतिक समझदारीका आधारमा केही दिनभित्र मधेसमा नयाँ सरकार गठन हुने उनको दाबी छ।




प्रतिक्रिया