राष्ट्रपतिद्वारा ३ विधेयक प्रमाणीकरण


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भएका तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै विधेयक प्रमाणीकरण भएको जानकारी गराइएको हो ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएका विधेयकहरूमा विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ रहेका छन् । यी तीनवटै विधेयक २०८३ साल असार ३० गते प्रमाणीकरण भएका हुन् । सभामा अध्यक्षले विधेयक प्रमाणीकरणबारे पत्र पढेर सभालाई जानकारी गराए ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिन् । मन्त्री गौतमले सभासमक्ष प्रतिवेदन प्रस्तुत गर्दै संवैधानिक व्यवस्था अनुरूप उक्त प्रतिवेदन सदनमा ल्याइएको जानकारी दिइन् ।

राष्ट्रिय सभाको अर्को बैठक दुई हप्ता पर सारिएको छ । बैठक आगामी साउन १५ गते शुक्रवार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।