आजदेखि शिक्षा र स्वास्थ्यमा थपियाे ३ प्रतिशत कर


काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले ल्याएको बजेट वक्तव्य र आर्थिक ऐन मार्फत घोषणा गरेका नयाँ करका दरहरू कार्यान्वयनमा आएका छन् ।

जसअनुसार १० लाखदेखि १५ लाखसम्म करयोग्य करयोग्य आयमा १० प्रतिशत आयकर लाग्नेछ भने १५ लाखदेखि २५ लाखसम्म करयोग्य आयमा २० प्रतिशत आयकर लाग्नेछ ।

२५ लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा २७ प्रतिशत र ४० लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा थप २ प्रतिशत बिन्दुले अतिरिक्त कर लाग्नेछ ।

त्यस्तै, आजदेखि शिक्षा र स्वास्थ्यमा पनि नयाँ कर लागू भएको छ । निजी शैक्षिक संस्थाले लिने शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क र निजी स्वास्थ्य संस्थाको सेवामा ३ प्रतिशत स्वास्थ्य समता शुल्क कार्यान्वयनमा आएको छ ।

घरायसी विद्युत् उपभोगमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट( कार्यान्वयनमा आएको छ । अब ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने परिवारले ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ ।

औद्योगिक विद्युत् खपतमा गर्नेहरूलाई १३ प्रतिशत भ्याट लाग्नेछ । राइड सेयरिङ सेवा पठाओ, इनड्राइभर, याङ्गो जस्ता सवारी साझेदारी सेवाहरूमा अब ५ प्रतिशत सेवा शुल्क थपिएको छ ।