काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अति भारीको वर्षाको पूर्वानुमान रहेको भन्दै उच्च सतर्कताका लागि आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज र भोलि आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अत्यधिक वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, देशका हिमाली तथा पहाडी भूभाग, कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।
अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ । प्राधिकरणले अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
विशेषगरी पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा विशेष सावधानी अपनाउन भनिएको छ ।





प्रतिक्रिया