हेटौंडा-काठमाडौं जाने सवारी रोकियो

File Photo

हेटौंडा । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज(शनिबार) साँझदेखि भोलि आइतबार बिहानसम्म लगातार भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि राजमार्ग आवागमनमा विशेष सावधानी अपनाएको हो ।

विपद् जोखिमलाई ध्यानमा राख्दै आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म हेटौंडाबाट देउराली–कुलेखानी–फर्पिङ हुँदै काठमाडौं जाने (छोटोमार्ग)सवारी साधनलाई हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलमा रोकेकाे हाे ।

त्यसैगरी, मकवानपुर र ललितपुरलाई जोड्ने हेटौंडा–ठिंगन–बागमती–सातदोबाटो (कान्तिलोकपथ) जाने सवारी साधनलाई भने आज साँझ ६ बजेदेखि नै हेटौंडा उपाहानगरपालिका–६ चौघडा बजारमामा रोकिएको प्रहरीले जानकारी दिएको छ ।

मौसममा सुधार नआएसम्म अनावश्यक यात्रा नगर्न, सुरक्षाकर्मी तथा सम्बन्धित निकायको निर्देशन पालना गर्न र सम्भावित विपद्को जोखिमबाट जोगिन प्रशासनले आग्रह गरेको छ ।