बाल सुधारगृहलाई पुनर्स्थापना केन्द्रका रूपमा विकास गरिने


काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले देशका विभिन्न भागमा रहेका बाल सुधार गृहहरूलाई सुधार, शिक्षा र पुनर्स्थापना केन्द्रका रूपमा विकास गर्ने बताएकी छन् ।

आइतबार सिंहदरबारमा आयोजित प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री वादीले बाल सुधार गृहलाई केवल दण्ड दिने थलोका रूपमा मात्र राख्न नहुने बताइन् ।

उनका अनुसार हाल देशभर भक्तपुर, मोरङ, पर्सा, हेटौँडा, कास्की, रुपन्देही, बाँके (जयन्दु र नौबस्ता), डोटी र नुवाकोट गरी १० वटा बाल सुधार गृह सञ्चालनमा छन् । ती सुधार गृहहरूको कुल क्षमता १ हजार ८५ रहेको भए पनि हाल १ हजार १९५ जना बालबालिका आश्रित छन् ।

केही समय अघिसम्म गैरसरकारी संस्था (युसेप नेपाल( ले व्यवस्थापन गर्दै आएका चार वटा सुधार गृहलाई गत वर्षको साउन १ गतेदेखि सरकारको पूर्ण नियन्त्रणमा ल्याइएको जानकारी पनि उनले दिइन् । उनकाअनुसार अधिकांश सुधार गृहमा क्षमताभन्दा बढी बालबालिका हुनु, बालमैत्री भौतिक पूर्वाधारको अभाव हुनु र पर्याप्त सुरक्षा प्रबन्ध नहुनु मुख्य चुनौती रहेका छन् ।

मन्त्री वादीले भनिन्,‘बाल सुधार गृहको व्यवस्थापन, सेवा प्रवाह तथा समग्र बाल न्याय प्रणालीलाई समयानुकूल, प्रभावकारी र बालमैत्री बनाउन बालबालिकासम्बन्धी ऐन, २०७५ संशोधन प्रक्रिया अघि बढिसकेको छ ।’