लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन


विराटनगर। कोशी प्रदेशमा लैङ्गिक हिंसा र समानता तथा सामाजिक समावेशीकरणको अवस्थाबारे मंगलबारदेखि विराटनगरमा प्रदेशस्तरीय सम्मेलन सुरु भएको छ।

सामाजिक विकासमन्त्री रामप्रसाद महतोले सम्मेलनको उद्घाटन गर्दै प्रदेश सरकारले लैङ्गिक हिंसा विरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए। उनले किशोरीहरुको सशक्तीकरण, अपाङ्गता लक्षित कार्यक्रम प्रदेशका सबै स्थानीय तहमा सञ्चालन भइरहेको पनि बताए।

मन्त्रालयका सचिव उद्धव रिजालले लैङ्गिक हिंसा निवारणका लागि सबै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गरी रु एक÷एक लाख बजेट चालु आर्थिक वर्षदेखि उपलब्ध गराइएको बताए।

कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा १३७ वटै स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखहरुको सहभागितामा दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा कोशी प्रदेशमा लैङ्गिक हिंसा( जीवीभी) र लैङ्गिक समानता र सामाजिक समावेशीकरण (जेसी) को अवस्था, विश्लेषण र समीक्षा हुने मन्त्रालयकी सहायक सचिव दुर्गा भण्डारी बरालले जानकारी दिए।

सम्मेलनमा सबै स्थानीय तहका महिला तथा बालबालिका शाखा प्रमुखहरुले पालिकागत रुपमा समूहगत प्रस्तुति रहनेछ। रासस