प्रधानमन्त्री बालेनले गभर्नर पौडेललाई ६ महिनाका लागि अर्थमन्त्री बन्न प्रस्ताव गरेको दाबी




काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिचको सम्बन्धमा पछिल्लो समय दूरी बढ्दै गएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणपछि चिसिएको प्रधानमन्त्री–अर्थमन्त्री को सम्बन्ध अझ तनावपूर्ण बन्दै गएको स्रोतहरूको दाबी छ।

केही दिनदेखि प्रधानमन्त्री बालेनले डा. वाग्लेलाई अर्थमन्त्री पदबाट हटाउने तयारी गरिरहेको समाचार पनि आइरहेको छ । वाग्लेलाई अर्थमन्त्रीबाट हटाउनुपर्ने प्रस्ताव प्रधानमन्त्री बालेनले पार्टी सभापति रवि लामिछानेलाई उनकै निवासमा पुगेर राखेको राजनीतिक वृत्तमा चर्चा छ। तर, प्रधानमन्त्रीको उक्त प्रस्तावमा सभापति लामिछाने सहमत नभएको बताइएको छ। उनले तत्कालै अर्थमन्त्री वाग्लेलाई हटाउन नहुने र मिलेर अगाडि बढ्नुपर्ने सुझाव दिएको स्रोतको भनाइ छ।

यसैबीच , प्रधानमन्त्री बालेनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलाई ६ महिनाको लागि अर्थमन्त्री बन्न प्रस्ताव गरेका छन् । असार ३२ गते सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा करिब १ घण्टा भएको प्रधानमन्त्री र गभर्नरबीचको भेटमा उक्त प्रस्ताव राखेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार प्रधानमन्त्री शाहले अर्थतन्त्र चलायमान बनाउँदै मुलुकको समग्र आर्थिक विकास गर्न पौडेललाई अर्थमन्त्रीको प्रस्ताव गरिएको हो । प्रधानमन्त्रीको प्रस्तावमा गभर्नर पौडेलले तत्काल कुनै जवाफ नदिएको बताइएको छ । पौडेलले उक्त प्रस्ताव स्विकार गरेमा रिक्त रहेको रास्ट्रीय सभा सदस्य पदमा मनोनीत गरेर अर्थमन्त्री बनाउने तयारी प्रधानमन्त्री शाहको रहेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री र गभर्नरबिच केही दिन अघि भएको भेटमा सेयर बजारको स्थायित्व र लगानीकर्ताको आत्मविश्वास बढाउने ,आगामी मौद्रिक नीतिलाई समयसापेक्ष, व्यावसायिक र लचिलो बनाउने ,बैंकिङ क्षेत्र, उद्यमशीलता प्रवर्द्धन तथा कर्जा प्रवाहलाई सहज बनाउने लगायतका विषयमा छलफल भएको थियो

प्रधानमन्त्री बालेनले रास्वपाकी सांसद विदुषी राणालाई अर्थमन्त्री बनाउने तयारी गरिरहेको समाचार पनि रिपोर्टस नेपालले यसअघि नै प्रकाशित गरिएको थियो ।