काठमाडौँ । रामादा बाई विन्धाम इटहरीले यस वर्षको साउन महिनामा बोलबम यात्रामा सहभागी हुने भक्तजनलाई सहयोग गर्ने भएको छ।
प्रत्येक वर्ष हजारौँ श्रद्धालु सहभागी हुने उक्त धार्मिक यात्रा बराहक्षेत्र, चतराबाट सुरु हुन्छ, जहाँ भक्तजनले सप्तकोशी नदीबाट पवित्र जल सङ्कलन गर्ने गर्छन् । त्यसपछि उनीहरूले पैदलयात्रा गर्दै धरानस्थित पिण्डेश्वर महादेव मन्दिर पुगेर भगवान् शिवलाई जलाभिषेक अर्पण गर्ने गरेका छन्।
धार्मिक मान्यताअनुसार देवता र असुरबीच भएको समुद्र मन्थनपछिको सङग्रामका क्रममा प्राप्त अमृतको दिव्य अंशबाट पिण्डेश्वरको शिवलिङ्ग प्रकट भएको विश्वास गरिन्छ । पिण्डेश्वर महादेव मन्दिर पूर्वी नेपालको प्रसिद्ध शिवालयमध्येको एक हो।
रामादा बाई विन्धाम इटहरीले खाना र बस्न विशेष छुटको घोषणा गरेको छ । सो होटलका महाप्रबन्धक अभिमन्यु कायस्थले यस सहयोगले भक्तजनलाई मद्दत पुग्ने विश्वास व्यक्त गरे। रामादा बाई विन्धाम इटहरीले पूर्वी नेपाललाई संस्कृति, अध्यात्म र धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै आएको उनको भनाइ छ।
पिण्डेश्वर महादेव मन्दिर, बराहक्षेत्र धाम तथा कोशी टप्पु वन्यजन्तु आरक्षजस्ता धार्मिक तथा प्राकृतिक गन्तव्यको भ्रमण गर्न चाहने पाहुनाका लागि सहज आधारस्थलको भूमिका निर्वाह गर्दै आएको कायस्थले बताए।




प्रतिक्रिया