कांग्रेस नेताहरूद्वारा गगन थापाको प्रशंसा


काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति गगन थापा समकालीन नेपाली राजनीतिको केन्द्रीय पात्र भएको दाबी गरेका छन्।

बिहीबार कांग्रेसको नीति प्रतिष्ठानले आयोजना गरेको विचार तथा छलफल कार्यक्रममा घिमिरेले थापा नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्तित्व भएको बताएका हुन्।

पार्टी राजनीतिलाई ऐतिहासिक मोड दिन र समग्र नेपाली राजनीतिलाई सही दिशाबोध गराउन थापा निरन्तर संघर्षरत र प्रयासरत रहेको घिमिरेको भनाइ थियो।

कार्यक्रममा बोल्दै घिमिरेले भने, ‘युवा विद्यार्थी अवस्थादेखि नै प्रजातान्त्रिक आन्दोलनमा प्रखर भूमिका खेलेका गगन थापा पार्टी राजनीतिलाई नयाँ मोड दिन र देशलाई सही बाटोमा हिँडाउन प्रयासरत समकालीन राजनीतिका केन्द्रीय पात्र हुन्।’

सोही कार्यक्रममा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभापति थापा उमेरले साना भए पनि विचार र बुद्धिले परिपक्व र ठूला नेता भएको टिप्पणी गरे।

केही दिनअघि कांग्रेसको संस्थापनइतर समूहको भेलामा सभापति गगन थापाप्रति लक्षित गरी व्यक्त गरिएका आक्रोश र आलोचनाप्रति संकेत गर्दै आङदेम्बेले असन्तोष जनाए। ‘मेलमिलाप र एकताको नाममा आयोजना गरिएका भेलाहरूमा थापामाथि पोखिएको आक्रोश र गालीगलौज लज्जास्पद छ, उनले भने।