मुगुमा पहिरोले घर पुरिँदा छोराको मृत्यु, बाबु-आमा घाइते


काठमाडौँ । मुगुको मुगम कार्मारोङ गाउँपालिका ५ पुलु बजारमा घरमाथि ढुंगासहित पहिरो खसेको छ ।

शनिबार बिहान करिब ४ बजे पहिरो आउँदा छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका ३ वर्षीय छोराको मृत्यु भएको छ भने उनका बुबा ३२ वर्षीय जगनाथ बडुवाल र आमा २७ वर्षीया सृजना बडुवाल घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरू पुलुमा स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका थिए। बडुवाल परिवार सुतिरहेको समयमा घरमाथि पहिरो खसेको थियो।

घाइते जगनाथ र सृजनाको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।