काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
सुनसरी घटनालगायत विषयमा छलफल गर्न लामिछानेले बुधबार बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेकाे महामन्त्री विपिन आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार बिहान ८ बजे लेखा समितिको बैठक कक्षमा छलफल हुनेछ । छलफलमा संसद्मा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टीलाई आमन्त्रण गरिएको छ ।
सबै दललाई पत्राचार गरिएको र नेताहरूलाई लामिछानेले फोन गरेर पनि आमन्त्रण गरेका उनको सचिवालयले जानकारी दिएको छ ।
असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरिएको आचार्यले जानकारी दिए ।




प्रतिक्रिया