प्रधानमन्त्रीले लिए सुनसरी घटनाको ब्रिफिङ, साेधे -‘गाेली कसले चलायाे ?’


विराटनगर । सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्री शाहले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, आईजी नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएको उनको सचिवालयले जनाएको छ। उक्त समयमा गृहमन्त्री सुधन गुरुङको समेत उपस्थिति रहेको थियो ।

ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले ‘गोली कसरी चल्यो ?’ भन्दै प्रश्न सोधेको तर सुरक्षा प्रमुखहरुले कुनै जवाफ नदिएको स्रोतले बतायो ।

प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्‍याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न दुवै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।