प्रम बालेनको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक बस्दै


काठमाडौँ । मुलुकको पछिल्लो राजनीतिक तथा सुरक्षा अवस्थाका साथै समसामयिक विषयमा समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्न लागेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे बैठक बोलाइएको हो। बैठकमा पछिल्लो समय देशमा विकसित परिस्थिति, आन्तरिक सुरक्षा व्यवस्थापन र बाह्य सुरक्षा चुनौतीबारे गहन छलफल हुने जनाइएको छ।

मुलुकको राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति निर्माण गर्ने तथा सेना परिचालनका लागि सिफारिस गर्ने सर्वोच्च संवैधानिक निकायका रूपमा सुरक्षा परिषद् रहने व्यवस्था छ।

नेपालको संविधान अनुसार राष्ट्रिय सुरक्षा परिषद्‍मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ भने रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति सदस्य र रक्षा मन्त्रालयका सचिव सदस्य-सचिव रहने संवैधानिक प्रावधान छ।

गम्भीर सुरक्षा चासो र राष्ट्रिय मुद्दाहरूमा निरन्तर अनुगमन तथा रणनीतिक निर्णय लिन परिषद्को यस बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।