बागमती, १४ साउन । हेटौँडास्थित भुटनदेवी माध्यामिक विद्यालयका पूर्वविद्यार्थीहरूको संस्था भुटनदेवी हाई स्कुलमैत्री समूह–२०३१ ले गुरुपूर्णिमाको अवसर विद्यालयका कक्षा ८ मा उत्कृष्ट छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।
समूहका तर्फबाट विद्यालयमा कक्षा ८ मा उत्कृष्ट हुने एक÷एक जना छात्रछात्रालाई वार्षिक रुपमा रु १०÷१० हजार नगद छात्रवृत्ति प्रदान गरिँदै आएको सचिव प्रमेन्द्र महर्जनले जानकारी दिए ।
विगत पाँच वर्षयता गुरुपूर्णिमाको अवसरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको जनाउँदै उनले यस वर्ष छात्रातर्फ सरगम चौलागाइँ र छात्रतर्फ खुश्बु वालु शाहलाई छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए ।
छात्रछात्रालाई समूहका अध्यक्ष लवनाथ रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले छात्रवृत्ति प्रदान गरेका थिए । कार्यक्रममा विद्यालयका तत्कालीन शिक्षक उद्धव खतिवडालाई सम्मान गरिएको थियो ।
समूहका अध्यक्ष रिजालको सभापत्विमा भएको कार्यक्रममा वडाध्यक्ष सिग्देल, वडा नं २ का वडाध्यक्ष एवं भुटनदेवी अल्मुनाई एसोसिएसनका अध्यक्ष विष्णुगोपाल महर्जन, समाजसेवी गणेशकुमार श्रेष्ठ, विद्यालयका प्राचार्य सूर्यप्रसाद घिमिरे, अर्जुन हुमागाइँलगायतले गुरुपूर्णिमाको महत्वसँगै भुटनदेवी माविको शैक्षिक योगदानलगायतका विषयमा बोलेका थिए ।




प्रतिक्रिया