आजदेखि दुई सिफ्टमा विद्युतीय राहदानी वितरण


काठमाडौं । राहदानी लिनका लागि सेवाग्राहीले भोग्दै आएको सास्ती र लामो लाइनको समस्यालाई सम्बोधन गर्दै राहदानी विभागले आफ्नो सेवा प्रवाहमा व्यापक सुधारको घोषणा गरेको छ। विभागले बिहीबारदेखि लागू हुने गरी विद्युतीय राहदानी (e-Passport) सेवा दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको हो।

नागरिकलाई सर्वसुलभ र छिटो-छरितो रूपमा सेवा प्रदान गर्ने उद्देश्यले आगामी साउन २२ गतेसम्मका लागि यो विशेष व्यवस्था मिलाइएको विभागले जनाएको छ।

विभागद्वारा जारी सूचनाअनुसार दैनिक सेवालाई दुई चरणमा विभाजन गरिएको छ:

  • पहिलो सिफ्ट: बिहान ७:०० बजेदेखि दिउँसो २:०० बजेसम्म
  • दोस्रो सिफ्ट: दिउँसो २:०० बजेदेखि बेलुकी ९:०० बजेसम्म

यस निर्णयसँगै अब सेवाग्राहीले आफ्ना अनुकूलताअनुसार बिहानै वा अबेर साँझसम्म पुगेर राहदानीसम्बन्धी काम फछ्र्यौट गर्न सक्नेछन्।

नियमित कार्यदिनमा समय निकाल्न नसक्ने कर्मचारी, विद्यार्थी तथा टाढाबाट आउने सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै विभागले शनिबार र अन्य सार्वजनिक बिदाका दिनहरूमा पनि कार्यालय खुला राख्ने भएको छ। बिदाका दिनहरूमा बिहान १०:०० बजेदेखि बेलुकी ४:०० बजेसम्म निरन्तर सेवा उपलब्ध गराइने सूचनामा उल्लेख छ।

विभागको यो कदमले पछिल्लो समय राहदानी बनाउन थुप्रिएको चाप घटाउनुका साथै सेवाग्राहीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।