एमाले सांसद पद्मा अर्यालको प्रश्न : “देशमा अशान्ति फैलँदा प्रधानमन्त्री बालेन कहाँ हुनुहुन्छ ?”


काठमाडौँ । नेकपा (एमाले) की सांसद पद्मा अर्यालले प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै मुलुकमा दिनानुदिन सुरक्षा खतरा बढ्दै गएको र यसले राष्ट्रकै अस्तित्व जोखिममा पर्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरिन्। प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै उनले भनिन्, “देशमा अशान्ति फैलँदा प्रधानमन्त्री बालेन कहाँ हुनुहुन्छ? प्रधानमन्त्रीको पद सिंहदरबारमा सजाउनका लागि मात्रै बनाइएको होइन।”

सुनसरीमा भएको गोलीकाण्ड र मानवीय क्षतिको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहले राजीनामा दिनुपर्ने हो कि होइन ? उनले प्रश्न गरिन् । यसअघि यस्तै घटना हुँदा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई थुनेको प्रसंग उनले उजागर गरिन् ।

विगतमा कैलालीको टीकापुर, रौतहट, कपिलवस्तु, बाँके र वीरगञ्ज जस्ता संवेदनशील क्षेत्रमा भएका घटनाहरूलाई एउटै विशेष रणनीतिक सूत्रबाट समाधान गरिएको स्मरण गराउँदै उनले वर्तमान सरकारले पनि सोहीअनुरूपको ठोस योजना ल्याउनुपर्नेमा जोड दिइन्।

शान्ति सुरक्षा कायम गर्ने मामिलामा प्रतिपक्ष सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै उनले भनिन्, “देशमा शान्ति, सुरक्षा र अनुशासन कायम गर्ने योजना र कदममा हामी सरकारसँग हात अघि बढाउन र हातेमालो गर्न तयार छौँ। सरकारले तत्काल शान्ति सुरक्षाको ठोस योजना ल्याओस्।”