काठमाडौं । देशको पछिल्लो शान्तिसुरक्षाको अवस्था तथा समग्र सुरक्षा व्यवस्थापनका विषयमा समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बसिरहेको हो।
देशभित्रका पछिल्ला घटनाक्रम खासगरी सुनसरीको कप्तानगञ्ज घटना र सुरक्षा चुनौतीहरूलाई दृष्टिगत गर्दै परिषद्को बैठक बोलाइएको हो।
बैठकमा देशको शान्ति–सुरक्षा र प्रतिरक्षा व्यवस्थासँग जोडिएका शीर्ष नेतृत्व तथा मन्त्रीहरूको उपस्थिति रहेको छ। बैठकमा गृहमन्त्री सुधन गुरुङ, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित सुरक्षा निकायका प्रमुखहरू– नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरू सहभागी छन् ।
बैठकमा समसामयिक शान्ति–सुरक्षाको अवस्था, सीमा सुरक्षाको स्थिति तथा हालै विकसित पछिल्ला घटनाक्रमहरूबारे गहन छलफल भइरहेको छ।
सुरक्षा निकायहरूबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने र देशको आन्तरिक तथा बाह्य सुरक्षा व्यवस्थालाई सुदृढ तुल्याउनेबारे आवश्यक रणनीति तय गरिने बताइएको छ।




प्रतिक्रिया