काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सुनसरीको देवानगञ्ज गाउँपालिकामा साउन १० गते भएको दोहोरो झडप तथा गोली लागेर भएको दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
आज(बिहिवार) महासंघका अध्यक्ष काशीनाथ दंगालद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ। साथै, महासंघले घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरिएको छ।
महासंघले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, आस्था र विश्वास स्वतन्त्र रूपमा अवलम्बन, अभ्यास तथा संरक्षण गर्ने मौलिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र विधिको शासनको सम्मान गर्नु लोकतान्त्रिक समाजको आधारभूत दायित्व भएको जनाएको छ।
विज्ञप्तिमा मतभिन्नता र असहमति लोकतान्त्रिक समाजका स्वाभाविक पक्ष भए पनि कुनै पनि विवादको समाधान हिंसा, उत्तेजना वा कानुन हातमा लिएर नभई संवाद, सहिष्णुता, संवैधानिक व्यवस्था र विधिको शासनमार्फत हुनुपर्ने महासंघको स्पष्ट धारणा रहेको उल्लेख गरिएको छ।
महासंघले सम्पूर्ण राजनीतिक दल, धार्मिक तथा सामुदायिक नेतृत्व, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकलाई शान्ति, संयमता र आपसी सद्भाव कायम राख्न आग्रह गरेको छ। साथै, अफवाह र उत्तेजना फैलाउने सूचना तथा गतिविधिबाट टाढा रहँदै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप सुदृढ बनाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।
त्यसैगरी, यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन राज्य, राजनीतिक नेतृत्व, नागरिक समाज, धार्मिक अगुवा तथा सरोकारवाला निकायहरूले संयुक्त रूपमा प्रभावकारी पहल गर्नुपर्ने महासंघको भनाइ छ।
महासंघले नेपाल सरकार तथा सम्बन्धित निकायसँग घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न जोडदार माग गरेको छ।





प्रतिक्रिया