मधेसको तनाव नियन्त्रण गर्न उच्च प्रहरी अधिकृत परिचालन


काठमाडौँ । तराई–मधेसका विभिन्न जिल्लाहरूमा पछिल्लो समय चर्किएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनाक्रमलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उच्च अधिकृतहरूसहितको थप सुरक्षा दस्ता तराई क्षेत्रमा खटाएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले कर्फ्यु जारी गरिएका तथा त्यस आसपासका जोखिमयुक्त जिल्लाहरूमा शान्ति–सुरक्षा कायम गर्न र कमान्ड सम्हाल्न वरिष्ठ प्रहरी अधिकृतहरूलाई प्रत्यक्ष रूपमा फिल्डमै परिचालन गरिएको जानकारी दिए। उनका अनुसार स्थिति नियन्त्रणबाहिर नजाओस् भन्नका लागि कर्फ्यु प्रभावित जिल्लाहरूका साथै आसपासका संवेदनशील क्षेत्रहरूमा सिनियर अफिसरहरूले नै सुरक्षा निगरानी र समन्वय गर्नेछन्।

त्यसैगरी, सशस्त्र प्रहरी बलले पनि तराईका विभिन्न जिल्लाहरूमा उच्च अधिकृतहरूको नेतृत्वमा टोली खटाएको छ। समग्र सुरक्षा व्यवस्थालाई थप चुस्त र मजबुत बनाउन उच्च अधिकृतहरूसँगै छिमेकी जिल्लाहरूबाट थप सुरक्षाकर्मीहरू (रिजर्भ फोर्स) लाई समेत मधेसका प्रभावित क्षेत्रमा थुपारिएको छ।

सुनसरी, सिरहा, धनुषा, पर्सा र सप्तरीलगायतका क्षेत्रमा सम्भावित अप्रिय घटना रोक्न, सामाजिक सद्भाव बिगार्न खोज्ने तत्त्वहरूलाई नियन्त्रणमा लिन र आम नागरिकको जिउधनको रक्षाका लागि सुरक्षा निकायहरूले तराई क्षेत्रमा गस्ती, निगरानी र परिचालनलाई तीव्रता दिएका छन्।