पुराणको रकमबाट घाट निर्माण


भद्रपुर (झापा), १७ साउन। बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट सङ्कलित रकमको सहयोगमा निर्माण गरिएको देउनिया विश्रान्तिघाट अन्तिम चरणमा पुगेको छ। घाटलाई थप आकर्षक बनाउन शनिबार उक्त क्षेत्र परिसरमा बृहत् सरसफाइ गरिएको छ।

देउनिया विश्रान्तिघाट निर्माण समितिको अगुवाइ तथा बिर्तामोड–८ वडा कार्यालयको समन्वयमा गरिएको सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, निर्माण समितिका पदाधिकारी, सुरक्षाकर्मी र स्थानीयवासीको सहभागिता थियो। घाट परिसरमा फूलबारी र फलफूलका बिरुवा रोप्ने तयारीस्वरूप सरसफाइ गरिएको हो।

करिब ३५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको विश्रान्तिघाटका लागि अन्य सरकारी निकायको पनि आर्थिक सहयोग रहेको छ। जसमा कोशी प्रदेश सरकारबाट आठ लाख, बिर्तामोड–८ वडा कार्यालयबाट १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। त्यस्तै गत वर्ष जेठमा लगाइएको धार्मिक पुराणबाट नौ लाख ३८ हजार सङ्कलन भएको थियो। बाँकी रकम विभिन्न दाताले सहयोग गरेका थिए।

निर्माण समितिका सचिव मदन अधिकारीले समुदायको साथबिना यो काम सम्भव नभएको बताए। उनले भने, “पुराणबाट उठेको रकम, स्थानीयवासीको सहयोग र विभिन्न दाताको साथले विश्रान्तिघाट निर्माण सम्पन्न गर्न सफल भएका छौं। अब उद्घाटनसँगै यसलाई व्यवस्थित र हरियालीयुक्तस्थलका रूपमा विकास गर्ने तयारी गरेका छौँ।”

बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीले घाट निर्माणसँगै स्थानीयले वर्षौंदेखि भोग्दै आएको शवदाहस्थलको समस्या समाधान भएको बताए। “वर्षा याममा देउनिया खोलामा आउने बाढीका कारण शवदाह गर्न कठिन हुने र शव नै बग्ने जोखिम थियो। नयाँ विश्रान्तिघाट बनेपछि त्यो समस्या अन्त्य भएको छ”, उनले भने।

वडाध्यक्ष कार्कीका अनुसार अब घाट परिसरको सौन्दर्यकरणमा जोड दिइएको छ। उद्यान  निर्माणको अवधारणाअनुसार फूलबारी र फलफूलका बिरुवा रोपेर क्षेत्रलाई हरियालीयुक्त बनाइनेछ। घाट निर्माणमा पशुपतिनाथ क्षेत्रबाट ल्याइएको नफुट्ने प्रकृतिको ढुङ्गा प्रयोग गरिएकाले संरचना दीर्घकालीन र मजबुत बनेको उनले बताए।

विश्रान्तिघाट रहेको क्षेत्रमा सिँचाइ डिभिजन कार्यालयले २५ लाख रुपैयाँको लागतमा तटबन्ध निर्माण गरिसकेको छ भने जनताको तटबन्ध कार्यालयबाट थप २१ लाख रूपैयाँ तटबन्धका लागि विनियोजन भएको निर्माण समितिले जनाएको छ। समितिका अनुसार विश्रान्तिघाटको उद्घाटन यही साउनभित्रै गरिने तयारी छ।