काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबिच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहलाई भेट्न प्रधानसेनापति सिग्देल मङ्गलबार बिहान सिंहदरबार पुगेका थिए।
सो भेटवार्तामा पछिल्लो राजनीतिक सुरक्षा अवस्था र काठमाडौँको गोकर्णमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सैनिक जवानप्रति गरेको व्यवहारका विषयमा छलफल भएको जनाइएको छ।
स्रोतका अनुसार भेटका क्रममा प्रधानसेनापति सिग्देलले काठमाडौँको गोकर्णस्थित नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्र परिसरमा रास्वपा सांसद राजु पाण्डेले सैनिक जवानप्रति गरेको ‘हप्कीदप्की’ र अभद्र व्यवहारप्रति प्रधानमन्त्री शाहको गम्भीर ध्यानाकर्षण गराएका छन्।
गोकर्ण करिडोर विस्तारका क्रममा ब्यारेकको पर्खाल भत्काउने विषयलाई लिएर सांसद पाण्डे र ड्युटीमा रहेका सैनिक जवानबीच भनाभन भएको थियो। सो क्रममा सैनिक जवानले ब्यारेकमा सैनिक फौज रहेको, पर्खाल भत्काउँदा सुरक्षा जोखिम हुनसक्ने र जंगली जनावर भाग्न सक्ने र माथिल्लो निकायको आदेशबिना पर्खाल भत्काउन नमिल्ने भन्दै विनम्रतापूर्वक अडान राखेका थिए।
तर, सांसद पाण्डेले ‘फौज बसेर के भयो र यो डोजर रोकिँदैन, किनभने म आदेश स्पष्ट लिएर आएको छु’ भन्दै जबरजस्ती पर्खाल भत्काउन दबाब दिएका थिए। सोही घट्नाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सैनिक वृत्त र आम नागरिक स्तरमा समेत चर्को आलोचना भइरहेको छ। प्रधानसेनापति सिग्देलले मर्यादाविपरीतको उक्त व्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका छन्।
यसैबीच, भेटका क्रममा पछिल्लो समय देशको तराई–मधेश क्षेत्रमा विकसित दुई समुदायबीचको विवाद र समग्र सुरक्षा व्यवस्थाका विषयमा पनि कुराकानी भएको बताइएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने यस भेटलाई नियमित प्रक्रिया भनेका छन्।




प्रतिक्रिया