काठमाडौँ। गृह प्रशासनले धार्मिक तथा सामाजिक सद्भावलाई मध्यनजर गर्दै धार्मिक क्षेत्रका सनातन धर्मसम्बद्ध अगुवाहरूसँग समसामयिक विषयमा गम्भीर परामर्श शुरु गरेको छ। गृहमन्त्री सुधन गुरुङको पहलमा मंगलबार गृह मन्त्रालयमा सनातन हिन्दू धर्मका प्रतिनिधिहरूसँग विशेष भेटघाट तथा छलफल सम्पन्न भएको हो।
वार्तामा सहभागी रामकृष्ण उपाध्यायका अनुसार धार्मिक क्षेत्रमा देखा परेका पछिल्ला गतिविधि, जनभावना र सनातन समुदायका प्रमुख चासोहरूलाई लिएर गृहमन्त्रीले प्रतिनिधिहरूको धारणा सुन्ने र तिनै सुझावका आधारमा निष्कर्षमा पुग्ने प्रयास गरेका छन्।
मंगलबारको बैठकमा धेरैजसो प्रतिनिधिहरूले हालको सामाजिक धार्मिक वातावरण र जनभावनालाई केन्द्रमा राखेर आफ्ना अडान तथा धारणा व्यक्त गरेका थिए। छलफल निकै सकारात्मक र गहन भए तापनि समय अभावका कारण उपस्थित सबै सहभागीहरूले आफ्ना भनाइ राख्न नपाएपछि अर्को साता पुनः बैठक बस्ने सहमति भएको छ।
‘गृहमन्त्रीज्यूले सनातनी अगुवाहरूलाई बोलाएर उहाँहरूको भावना बुझ्दै उचित निष्कर्ष निकाल्ने प्रयास गर्नुभएको हो,’ बैठकपछि उपाध्यायले भने, ‘आज सबैका कुरा सुन्न समय नपुगेकाले अर्को हप्ता फेरि छलफललाई निरन्तरता दिने निर्णय भएको छ।’
धार्मिक क्षेत्रमा देखिएका असन्तुष्टि र समसामयिक चासोहरूलाई सरकारले कसरी सम्बोधन गर्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ। आगामी साता हुने दोस्रो चरणको छलफलले यस विषयमा ठोस मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया