खोटाङ, २४ साउन । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको लप्से (पङ्खु) खोलामा अस्थायी बेलिब्रिज जडान गर्न ठेक्का आह्वान गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जोड्ने लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गर्नका लागि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, रामेछापले रु एक करोड ६३ लाख ६४ हजारमा ठेक्का खुलाएको हो । लप्सेखोलामा पक्की पुल निर्माणको काम अलपत्र परेको अवस्थामा अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने तयारी गरिएको कार्यालयका सूचना अधिकारी इन्जिनियर भरत श्रेष्ठले जानकारी दिए ।
“दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको लप्सेखोलामा तत्कालका लागि यातायात सञ्चालन गर्न अस्थायी बेलिब्रिज सञ्चालन गर्ने तयारीमा छौँ । ठेक्का स्वीकृति भएको तीन महिनाभित्र जडान सम्पन्न गरेर सञ्चालन गर्नेगरी ठेक्का आक्वान गरिएको छ”, उनले भने, “आगामी दसैँ÷तिहारभन्दा अगाडि यातायात सञ्चालन गर्नेगरी ठेक्का सम्झौता गरेर अस्थायी बेलिब्रिज जडान गरिनेछ ।”
लप्सेखोलामा २०७३ सालमा सक्नेगरी १५ मिटर लम्बाइको मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको थियो । ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिको चरण ढिलासुस्ती तथा लापरबाहीका कारण निर्माणको काम अगाडि नबढेपछि २०७९ सालमा ठेक्का तोडिएको थियो ।
ठेक्का लागेको सात वर्ष बित्दासमेत ठेकेदार कम्पनीले मोटरेबल पक्की पुल नबनाएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाले ठेक्का तोड्नका लागि २०७९ मङ्सिरमा सडक विभागसमक्ष सिफारिस गरेको थियो । ठेकेदार कम्पनीसँग मोटरेबल पुल निर्माणको ठेक्का तोडिएको तीन वर्ष बिते पनि नेपाल सरकारले हालसम्म त्यहाँका लागि पुल निर्माण गर्न नयाँ ठेक्का खुलाएको छैन । विसं २०७३ असोजसम्ममा मोटरेबल पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी ठेक्का सम्झौता भएको थियो । खोलाको दुई किनारामा पिलर ठड्याउने कामबाहेक केही प्रगति भएन् ।
पुल निर्माणका लागि तेस्रोपटक थप भएको म्याद २०७७ असोज ३० गते नाघेको थियो । लप्सेखोलामा पुल नहुँदा वर्षात्को समयमा पैदलयात्री, मालवाहक तथा यात्रुवाहक गाडी, एम्बुलेन्स र मोटरसाइकल घण्टौँ रोकिने गरेको स्थानीयवासीले बताएका छन् । वर्षात्को समयमा बाढी र पहिरो खसेको बेला लप्सेखोलामा बेला–बेला लामो समयसम्म सडक अवरुद्ध हुने गरेको छ ।
गत जेठ २७ गते राति लप्सेखोलामा सडकभन्दा माथिबाट लेदोसहितको बाढी झरेपछि हप्ता दिनसम्म यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो । अहिले बाढीले अवरुद्ध भएको सडकमा ह्युमपाइप राखेर सवारीसाधन वारपार गर्ने व्यवस्था मिलाइएको छ ।
यसैबीच, मध्यपहाडी लोकमार्गअन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डकै (दश किलोमिटर) सेखुवा–चखेवाभञ्ज्याङ सडक कालोपत्रका लागि नयाँ ठेक्का आह्वान भएको छ । ठेकेदार कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभी काठमाडौँले काम नगरेपछि पुरानो ठेक्का तोडेर नयाँ आह्वान गरिएको हो ।
विसं २०७५ फागुन ३० गतेसम्ममा सम्पन्न गर्नेगरी २०७२ साल चैत २ गते ठेकेदार कम्पनीसँग ठेक्क सम्झौता भएको थियो । ठेकेदार कम्पनीले पटकपटक थपिएको म्याद सकिँदा पनि कालोपत्रको काम सम्पन्न नगरेपछि २०८० जेठ १४ गते ठेक्का तोडिएको थियो ।
दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङबाहेक सबै क्षेत्र कालोपत्र भइसकेको छ । ठेकेदारको लापरबाहीले कालोपत्र नभएको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्डमा हिउँदको समयमा धुलो र वर्षात्को समयमा हिलोका कारण पटकपटक यातायात अवरुद्ध हुँदै आएको छ ।




प्रतिक्रिया