तुलसीपुर (दाङ), २५ साउन । दाङ बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी छन् । पहिले छोराछोरीलाई स्कुल पठाएपछि घरमा आएर टिकटक, फेसबुक चलाउनेबाहेक खासै काम हुँदैनथ्यो । तर, अहिले उनको दैनिकी फेरिएको छ । उनी धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त छिन् ।
“पहिले त छोराछोरीलाई स्कुल पठायो, त्यसै बस्यो, समय बिताउनको कठिन हुन्थ्यो”, उनले भनिन्, “तर अहिले समय बिताउन पनि सहज भएको छ, आम्दानी पनि हुने गरेको छ ।”
उनले धागोबाट विभिन्न सामग्री बुन्न सुरु गरेकी हुन् । अहिले उहाँको हातमा धागोमात्रै छैन, नयाँ सीप सिकेर आत्मनिर्भर बन्ने आत्मविश्वास पनि थपिएको छ ।
त्यस्तै, पूर्वीरुकुमकी झरना बुढामगर पढ्न दाङको घोराही आएकी हुन् । पढाइबाहेक खाली समय कसरी बिताउने भन्ने अन्योलमा रहेकी उनको दैनिकी पनि अहिले फेरिएको छ । घोराहीस्थित स्वप्न होजियारी उद्योगमा सम्पर्क भएपछि उनले धागोबाट विभिन्न सामग्री बनाउन सिकिन् ।
“अहिले त व्यस्त भइयो”, उनले भनिन्, “केही नयाँ कुरा सिक्न पाउँदा धेरै फाइदा भएको छ ।” उनीहरूमात्रै होइन, धेरै महिला धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त छन् । हिजोसम्म घरधन्दा र छोराछोरीलाई स्कुल पठाएपछि ‘के गर्ने ?’ भन्ने अन्योलमा रहेका महिला अहिले व्यावसायिक काममा जोडिन थालेका छन् । उनीको हातमा क्रुस र सियोमात्रै छैन, आत्मनिर्भर बन्ने एउटा दरिलो आधारसमेत देखिन थालेको छ ।
हाल स्याउ, सुन्तला, गाजरलगायत आकर्षक ढाँचाका सामग्री बनाउन सीप सिकेकी छन् । उद्योगमा कार्यरत महिला विद्यालयका लागि आवश्यक वर्णमाला, खेलौनालगायत सामग्री बनाउन पनि व्यस्त हुने गरेका छन् । ‘ए प्लसदेखि जेब्रासम्म– ए टु जेड’का सामग्रीसमेत धागोबाटै बनाउने गरिएको छ ।
विभिन्न ५६ प्रकारका धागोका सामग्री बनाउने गरिएको उद्योगकी प्रमुख रचना सुवेदीले जानकारी दिइन् । दाङको घोराहीमा मुख्य उद्योग सञ्चालन गर्दै आएको यस संस्थाले महिलालाई तालिम र रोजगारीसँग जोड्दै आएको छ ।
उनका अनुसार अहिले विद्यालयले समेत धागोबाटै सामग्री बनाउन थालेपछि यसको माग बढेको छ । सबै सामग्री धागोबाटै बनाउन थालेपछि निकै काम पाएका छौँ”, उनले भनिन्, “विद्यार्थीलाई सिकाउन पनि सहज हुने र वातावरणमैत्री हुने भएकाले सबैले यसको माग बढेको छ ।”
उनका अनुसार ऊनबाट बनाइएका यी सामग्री बालबालिकाका लागि सुरक्षित छन् । अन्य सामग्रीजस्तो चोट लाग्ने जोखिम कम हुने भएकाले बालबालिकाले प्रयोग गर्न सक्ने र पुनः प्रयोग गर्न सकिने भएकाले पनि यसको आकर्षण बढेको छ ।
सुवेदीका अनुसार उद्योगको मुख्य उद्देश्य व्यापार मात्रै नभई स्वरोजगार सृजना गर्नु पनि हो । उद्योगमा १५ जनाभन्दा बढी श्रमिक कार्यरत छन् । उनीहरूलाई काम सिकाउने र रोजगारी दिने गरिएको छ । “हामी काम पनि सिकाउँछौँ र रोजगारी पनि दिन्छौँ”, उनले भनिन्, “श्रमिकलाई सामग्री बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत दिने गरेका छौँ ।”
उनका अनुसार ‘ए टु जेड’ को एउटा सेट रु पाँच हजारमा बिक्री गर्ने गरिएको छ । त्यसबाट प्राप्त रकमको ५० प्रतिशत श्रमिकलाई दिने गरिएको छ । पछिल्लो समय यसको मागसमेत बढिरहेको सुवेदीले बताइन् ।
घोराहीमा विसं २०६३ मा उक्त होजियारी उद्योग सञ्चालनमा आएको हो । त्यसयता उद्योगले होजियारीसम्बन्धी तालिम दिँदै आएको छ । सोही तालिमबाट धेरै महिला रोजगारी प्राप्त गर्न सफल भएका छन् ।
उद्योगले दाङमा मात्र नभई विभिन्न जिल्लाका महिलालाई विभिन्न तालिम प्रदान गर्दै आएको छ । धागो र सियोबाट सुरु भएको यही सीप अहिले धेरै महिलाका लागि आम्दानीको माध्यममात्रै नभई आत्मनिर्भर बन्ने बाटोसमेत बनेको छ ।




प्रतिक्रिया