काठमाडौं, साउन २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने प्रयास भए त्यो ‘ठूलो गल्ती’ हुने बताएका छन् । विश्वकपको केही हिस्सा निजी लगानीकर्तालाई सहभागी गराउने योजनाका कारण इन्फान्टिनोमाथि आलोचना भइरहेका बेला ट्रम्पले उनको बचाउ गरेका हुन् ।
युरोपेली फुटबल महासङ्घ (युइएफए), उत्तर तथा मध्य अमेरिकी फुटबल महासङ्घ (कोन्काकाफ) र एसियाली फुटबल महासङ्घ (एएफसी)का प्रमुखले संयुक्त रूपमा जारी गरेको खुला पत्रमा इन्फान्टिनोमाथि विश्वासघात गरेको आरोप लगाइएको छ ।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इन्फान्टिनोको पक्षमा धारणा सार्वजनिक गरेका हुन् । उनले इन्फान्टिनोलाई ‘असाधारण’ व्यक्तिको सङ्ज्ञा दिँदै अहिलेसम्मकै सफल विश्वकप आयोजना गरेको दाबी गरेका छन् । “कुनै पनि कारणले अध्यक्ष जियानी इन्फान्टिनोलाई हटाउनेबारे विचार गरिए पनि फिफाले ठूलो गल्ती गर्नेछ,” ट्रम्पले लेखेका छन् ।
गत महिना ट्रम्पले इन्फान्टिनोसँगै विश्वकपको फाइनल खेल हेरेका थिए । इन्फान्टिनोले गत वर्ष विश्वकपको खेल तालिका सार्वजनिक गर्ने समारोहमा ट्रम्पलाई ‘फिफा शान्ति पुरस्कार’ प्रदान गरेका थिए । ट्रम्पको समर्थन अमेरिकी फुटबल महासङ्घको अडानभन्दा फरक देखिएको छ । अमेरिकी फुटबल महासङ्घ इन्फान्टिनोको नेतृत्वको आलोचना गर्ने पक्षमा सामेल भएको छ ।
इन्फान्टिनोले विश्वकपलगायत फिफाका प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना अघि सारेका थिए । तर युरोपेली फुटबल महासङ्घसहित विभिन्न निकायको तीव्र विरोधपछि उनले उक्त योजना फिर्ता लिएका थिए ।
युइएफए, कोन्काकाफ र एएफसीले सोमबार जारी गरेको संयुक्त पत्रमा फुटबलको नेतृत्व कुनै व्यक्तिको निजी सम्पत्ति नभएको उल्लेख गर्दै इन्फान्टिनोको नेतृत्वशैलीप्रति प्रश्न उठाइएको छ । उनीहरूले विश्वास तोडिएको अवस्थामा नेतृत्वले आफ्नो जिम्मेवारी त्याग्नुपर्ने उल्लेख गर्दै फिफा अध्यक्षमाथि निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको अभाव रहेको आरोप लगाएका छन् ।
इन्फान्टिनोको चौथो कार्यकालको तयारी
कोन्काकाफका अध्यक्ष भिक्टर मोन्टाग्लियानीलाई इन्फान्टिनोका सम्भावित प्रतिस्पर्धीका रूपमा हेरिएको छ । इन्फान्टिनो सन् २०२७ मार्चमा हुने फिफा कङ्ग्रेसबाट चौथो तथा अन्तिम कार्यकालका लागि पुनः निर्वाचित हुने तयारीमा छन् । उम्मेदवारको नामावली आगामी नोभेम्बर १८ सम्ममा घोषणा गरिसक्नुपर्नेछ ।
अमेरिका, मेक्सिको र क्यानडामा भएको विश्वकप सफलतापूर्वक आयोजना गरेपछि इन्फान्टिनो निर्विरोध निर्वाचित हुने सम्भावना बलियो देखिएको थियो । तर निजी लगानीसम्बन्धी योजनाले विवाद चर्काएपछि उनीमाथिको दबाब बढेको हो ।
दश वर्षदेखि फिफाको नेतृत्वमा रहेका ५६ वर्षीय स्विस नागरिक इन्फान्टिनोले अफ्रिकी फुटबल महासङ्घ (सीएएफ) को समर्थन पाएका छन् भने दक्षिण अमेरिकी फुटबल महासङ्घ (कोन्मेबोल)ले पनि उनलाई समर्थन गर्ने सङ्केत गरेको छ ।
फिफाको निर्वाचनमा महादेशीय महासङ्घले नभई सदस्य राष्ट्रका फुटबल सङ्घले मतदान गर्छन् । इन्फान्टिनोले कोन्काकाफअन्तर्गतको मेक्सिको तथा एएफसीका सदस्य कुवेत र कतारबाट पनि समर्थन पाएका छन् ।
निजी लगानीको योजनामा विवाद
युइएफएले निजी लगानीको योजना अघि बढे विश्वकप बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनोले उक्त योजना फिर्ता लिएका थिए । युइएफएले यसअघि योजनालाई ‘अपारदर्शी र गोप्य सम्झौता’ भन्दै आलोचना गरेको थियो ।
सोमबार पनि युइएफएले इन्फान्टिनोको निर्णय क्षमतामाथि प्रश्न उठाएको छ । गत साता मोरक्कोमा भएको आकस्मिक बैठकमा इन्फान्टिनोले फिफाका वरिष्ठ अधिकारीको समर्थन प्राप्त गरेका थिए । तर युइएफए, कोन्काकाफ र एएफसीले उक्त समर्थनलाई पर्याप्त नभएको बताएका छन् । उनीहरूले फिफा व्यवस्थापन समितिका सीमित सदस्य मात्र सहभागी भएको बैठकले समस्या समाधान गर्न नसक्ने दाबी गरेका छन् ।
इन्फान्टिनोको नेतृत्वमा विश्वकपमा टोलीको सङ्ख्या बढाएर ४८ पुर्याइएको छ । महासङ्घले विगत एक दशकमा फुटबलमा भएको प्रगतिलाई स्वीकार गरे पनि त्यसलाई कुनै एक व्यक्तिको उपलब्धिका रूपमा लिन नहुने बताएका छन् ।
उनीहरूले फुटबलको विकास फिफा, महादेशीय महासङ्घ, सदस्य सङ्घ तथा खेलमा संलग्न हजारौँ व्यक्तिको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गरेका छन् । साथै, फिफाको नेतृत्वमा जवाफदेहिता र पारदर्शिता कमजोर हुँदै गएको आरोप लगाउँदै आफूहरू फुटबलको एकता र संस्थागत उत्तरदायित्वका पक्षमा एकजुट भएको बताएका छन् ।




प्रतिक्रिया