काठमाडौँ । आज अर्थात् १२ अगस्ट २०२६ (२७ साउन २०८३) का दिन वर्षको प्रमुख खगोलीय घटनाका रूपमा मानिएको दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। सूर्य, चन्द्रमा र पृथ्वीको विशेष ज्यामितीय रेखांकनका कारण घट्न लागेको यो दुर्लभ खगोलीय दृश्य भने नेपालसहित दक्षिण एसिया तथा एसियाका अधिकांश भू-भागबाट देख्न पाइने छैन।
चन्द्रमाको पूर्ण छाया पृथ्वीको सीमित भू-भागमा मात्र पर्ने भएकाले नेपाल यो ग्रहणको प्रत्यक्ष दृश्य क्षेत्रभन्दा बाहिर परेको हो।
अमेरिकी अन्तरिक्ष संस्था (नासा) का अनुसार ग्रहणको पूर्ण छाया उत्तरी रुसबाट सुरु भई आर्कटिक क्षेत्र, ग्रिनल्यान्ड र आइसल्यान्ड हुँदै उत्तर एटलान्टिक महासागर पार गरेर स्पेनतर्फ अघि बढ्नेछ।
- पूर्ण ग्रहण देखिने मुख्य क्षेत्र: उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तर एटलान्टिक महासागर, स्पेन तथा पोर्चुगलको सानो भू-भाग।
- प्रमुख सहरहरू: स्पेनका लियोन, जारागोजा र भ्यालेन्सियाजस्ता सहरहरू पूर्ण ग्रहणको प्रत्यक्ष मार्गमा पर्नेछन्।
नासाका अनुसार अधिकांश स्थानमा पूर्ण ग्रहणको अवधि दुई मिनेटभन्दा कम रहनेछ। यद्यपि, ग्रिनल्यान्ड, रुस वा उत्तर एटलान्टिकको ग्रहण मार्गको मध्यभागनजिक भने पूर्ण ग्रहण दुई मिनेटभन्दा केही बढी (साढे दुई मिनेटभन्दा कम) कायम रहनेछ।
यस्तै, युरोपका अधिकांश भाग, उत्तर अमेरिका र उत्तरपश्चिमी अफ्रिकाका केही भू-भागबाट आंशिक सूर्यग्रहण देखिनेछ। नासाको अनुमानअनुसार पेरिस: ९२ प्रतिशत, लन्डन: ९१ प्रतिशत, बार्सेलोना: ९९ प्रतिशत र बर्लिनमा ८५ प्रतिशत सूर्यको भाग चन्द्रमाले ढाक्नेछ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर सूर्यको प्रकाश पूर्ण वा आंशिक रूपमा छेक्दा सूर्यग्रहण लाग्छ। तर चन्द्रमा आकारमा सानो हुने भएकाले यसको छाया पृथ्वीको सीमित क्षेत्रमा मात्र पर्दछ।
आजको ग्रहणमा पूर्ण छायाको मार्ग उत्तरी गोलार्धको उच्च अक्षांश हुँदै रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तर एटलान्टिक र स्पेनसम्म मात्र फैलिएको छ। नेपाल यो छायाको मार्गभन्दा बाहिर परेकाले यहाँबाट न पूर्ण न त आंशिक सूर्यग्रहण नै दृश्यमान हुनेछ।
नेपालका खगोलप्रेमी तथा उत्सुक सर्वसाधारणले प्रत्यक्षरूपमा अवलोकन गर्न नपाए पनि विश्वभरका विश्वसनीय अन्तरिक्ष तथा खगोलीय संस्थाहरूले गर्ने अनलाइन प्रत्यक्ष प्रसारणमार्फत यो दुर्लभ दृश्य हेर्न सक्नेछन्।




प्रतिक्रिया