सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै


काठमाडौं, भदौ १ । सुदूरपश्चिम प्रदेशमा मौलिक पर्व ‘ओल्के’ मनाइँदै छ । आफ्ना छरछिमेक तथा इस्टमित्रहरुबीच ‘ओल्को’ (विशेष प्रकारको उपहार) साटासाट गरेर यो पर्व मनाइन्छ । सुदूरपश्चिमसँगै कर्णाली प्रदेशमा पनि यो पर्व मनाइन्छ । ओल्के पर्वका दिन पिँडालुको गाभा(कलिलो पात), दूध, दहि तथा मिठा परिकारहरु उपहारका रुपमा बाँड्ने चलन छ ।

साथै, छोरी चेलीहरु ‘ओल्को’ लिएर माइत आउने र माइती पक्षले विशेष सत्कार गर्ने चलन पनि छ । ओल्के पर्वका दिन कृषिसँग सम्बन्धित औजारहरुलाई धोइपखाली गरेर भण्डारण चलन पनि छ । ओल्के पर्वको दिन धोइ पखाली गरेर राखिएका कृषि औजारहरु आश्विन १ गते विश्वकर्माको पूजा गरेर बाहिर निकालिन्छ ।

ओल्केकै दिन बुढी हाल्ने चलन पनि सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा प्रचलित छ । जंगलबाट रुख काटेर ल्याएर जंगल नजिकैको खुला ठाउँमा गाडेर बुढी (बन्डुनी)हाल्ने गरिन्छ । उक्त बुढी असोज १ गते साँझ जलाइन्छ ।