काठमाडौँ महानगरद्वारा ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने प्रक्रिया सुरु


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नेसम्बन्धी ३५ दिने सूचना जारी गरेको छ।

महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति लिई सञ्चालनमा रहेका तर हाल रद्द गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजातसहित विवरण पेस गर्न विभागले निर्देशन दिएको हो।

शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्था आएकाले सो सूचना प्रकाशित गरिएको शिक्षा विभागका प्रमुख नवराज ढकालले बताए। तोकिएको अवधिमा चित्तबुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाउने उनले स्पष्ट पारे।

यसअघि पनि दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेज गर्ने निर्णय महानगरपालिकाले गरेको थियो। नगर शिक्षा समितिको बैठकले कागजमा मात्र सीमित र वास्तविकतामा सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

महानगरपालिकाले संस्थागत विद्यालयको सञ्चालन, कक्षा तथा विषय थप, नाम, स्थान र स्वामित्व परिवर्तनलगायतका विषयमा कानुन एवम् निर्धारित मापदण्डअनुसार काम कारबाही अघि बढाउँदै आएको छ। रासस