सप्तरीमा ३ वर्षीया बालिका मृत फेला: प्रहरी अनुसन्धानमा


सप्तरी । शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्।

स्थानीय इरफानकी छोरी सानिया खातुन आइतबार घरपछाडिको झाडीमा मृत अवस्थामा भेटिएकी हुन्। परिवारका अनुसार बिहान करिब ९ बजेसम्म सानिया घरमै थिइन्। त्यसपछि बालिका नदेखिएपछि परिवार तथा स्थानीयले खोजी सुरु गरेका थिए।

खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि रहेको झाडीमा उनको शव फेला परेको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काले घटनाबारे अनुसन्धान तथा आवश्यक छानबिन अघि बढाइएको जानकारी दिए।

प्रहरीले बालिकाको मृत्युको कारण पत्ता लगाउन घटनास्थलको मुचुल्का तथा अन्य अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। मृत्यु स्वाभाविक हो वा अन्य कुनै कारणले भएको हो भन्ने विषय अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।

घटनापछि घटनास्थलमा स्थानीयको बाक्लो भीड लागेको छ। बालिकाको मृत्युले स्थानीय क्षेत्रमा समेत त्रास र शोकको अवस्था सिर्जना भएको छ।