नेपाल-भारत सम्बन्ध नयाँ शिराबाट अघि बढाउन ऋषि धमलाको प्रस्ताव


काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले मुलुकमा विकास र आर्थिक समृद्धि नै अबको मुख्य एजेन्डा हुनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले छिमेकी मुलुक भारत र चीनसँग सुमधुर सम्बन्ध कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

अतीतका राजनीतिक अस्थिरताको प्रसङ्ग उल्लेख गर्दै धमलाले विगतमा बीपी कोइराला नेतृत्वको दुईतिहाइको सरकारले समेत पूरा समय काम गर्न नपाएको स्मरण गराए ।

“अहिलेको बालेन शाह नेतृत्वको सरकारले पाँच वर्ष पूरै काम गर्न पाउनुपर्छ भनेर मैले निरन्तर भन्दै आएको छु,” धमलाले भने, “दुईतिहाइको सरकार हुँदा पनि देशमा विकास, शान्ति र स्थिरता भएन भने कहिले हुन्छ ? त्यसैले सरकारका कमी-कमजोरी भए खबरदारी गरौँ, तर सरकार नै ढाल्ने र फेर्ने खेलतिर नलागौँ ।”

अध्यक्ष धमलाले वि.सं. २००७ को क्रान्तिदेखि जेनजी आन्दोलनसम्म पुग्दा मुलुकमा धेरै राजनीतिक परिवर्तन र आन्दोलनहरू भइसकेकाले अब थप आन्दोलनको औचित्य नभएको दाबी गरे ।

“अहिले आन्दोलनको होइन, बृहद् राष्ट्रिय एकताको खाँचो छ । आन्दोलनले समस्याको समाधान गर्दैन,” धमलाले थपे, “अहिलेको मुख्य प्राथमिकता सुशासन, रोजगारी सिर्जना र युवालाई विदेश पलायन हुनबाट रोक्नु हो । दशैँ-तिहार जस्ता ठूला चाडबाडका बेला पनि नेपाली युवाहरू बाध्यात्मक वैदेशिक रोजगारीमा जानुपर्ने स्थितिको अन्त्य हुनुपर्छ ।”

प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको सन्दर्भमा बोल्दै उनले भ्रमणअघि पूर्वप्रधानमन्त्रीहरू र सबै राष्ट्रिय दलका प्रमुखहरूसँग परामर्श गर्न सुझाव दिएका छन् । कूटनीति र अर्थनीति जस्ता संवेदनशील विषयमा राष्ट्रिय सहमति, एकता र मेलमिलाप आवश्यक हुने धमलाको भनाइ थियो ।

“भारतको विरोध गरेर मात्र नेपालको विकास सम्भव छैन, नेपाल-भारत सम्बन्धलाई अब नयाँ शिराबाट अघि बढाउनुपर्छ,” धमलाले भने, “शिवरात्रिजस्ता पर्वलाई लक्षित गरी कम्तीमा ५० लाख भारतीय धार्मिक पर्यटकलाई नेपाल भित्र्याउने गरी तयारी गर्नुपर्छ ।”

यसैगरी, उनले संसद्‌मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनताका जीवन्त एजेन्डा र समस्याहरूलाई सशक्त रूपमा उठाउन नसकेको आरोपसमेत लगाएका छन् ।

साक्षात्कार कार्यक्रममा नेकपा एमालेका नेता शेरबहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद मदन भण्डारी, नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटा तथा नेपाली कांग्रेसका सहमहामन्त्री मनोजमणि आचार्यले समेत समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखेका थिए ।