सञ्चारमन्त्री डा. तिमिल्सिनाले गरे पहिरो प्रभावित बस्तीको निरीक्षण


नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार नुवाकोटको विभिन्न स्थानका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गरेका छन्।

अवलोकनपश्चात् पहिरोबाट प्रभावित घरपरिवारलाई तत्कालै सुरक्षित स्थानमा स्थान्तरणसहित आवश्यक बन्दोबस्ती मिलाउन मन्त्री तिमिल्सिनाले निर्देशन दिए। नुवाकोट–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यका रुपमा मन्त्री तिमिल्सिनाले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पञ्चकन्या, शिवपुरी र लिखु गाउँपालिकाको विभिन्न स्थानमा यही भदौ ४ र ५ गते राति परेको अविरल वर्षाका कारण पुगेको क्षतिको स्थलगत निरीक्षण एवम् प्रभावित बासिन्दासँगको अन्तरक्रियापश्चात् जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा स्थान्तरणको प्रक्रिया अघि बढाउन जिल्लास्थित निकायको ध्यानाकर्षण गराए।

“स्थानीय सरकार र स्थानीय प्रशासनमार्फत तत्कालै भएका उद्धार, राहत र व्यवस्थापन प्रभावकारी रहेछ”, मन्त्री तिमिल्सिनाले भने, “पहिरोको जोखिमको जतिसक्दो चाँडो प्राविधिक अध्ययन गरेर बसोबासको लागि उपयुक्त भए/नभएको यकीन गरेर बस्ती स्थान्तरण गर्नुपर्ने भएकाले सङ्घीय सरकारकोतर्फबाट आवश्यक सहजिकरण गर्नेछौँ ।”

स्थलगत निरीक्षणका क्रममा पञ्चकन्या गाउँपालिकाको अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले मन्त्रीसहित जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं नुवाकोटका प्रमुख जिल्ला अधिकारीसहितको सरोकारवालालाई वडा नं ३ र ४ र ५ को विभिन्न स्थानमा गएको पहिरो र त्यसले पुर्‍याएको क्षतिको जानकारी गराएका थिए।

यही भदौ ४ गते राती परेको अविरल वर्षाका कारण पञ्चकन्या–४ स्थित बोकेडाँडामा ११ घरपरिवार बसोबास गर्दै आएको बस्ती जोखिममा परेपछि प्रभावित भएका बासिन्दासँग मन्त्री तिमिल्सिनाले भेटेर अन्तरक्रिया र उनको गुनासो सुने।

प्रभावित बासिन्दाले घर फर्कनसक्ने अवस्था नभएकाले बस्ती नजिकै सुरक्षित स्थानमा बसोबास मिलाइदिन माग गरेका छन् । जवाफमा उनले स्थानीय र जिल्लास्थित विपद् व्यवस्थापन समितिमार्फत प्राविधिक अध्ययनका आधारमा सोहीअनुसार तीन तहका सरकारबीच सहकार्य गरेर प्रभावितको मागको सम्बोधन गरिने स्पष्ट पारे ।

“प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरणसहित आवश्यक पूर्वाधारका संरचना निर्माण गर्नुपर्ने दायित्व रहेको छ । तत्काल र दीर्घकालीन योजना बनाई सोहीअनुसार प्रक्रिया अगाडि बढाउन सरोकार राख्ने सम्पूर्ण निकायबाट आवश्यक कदम अघि बढाउने विश्वास दिलाउँछौँ”, उनले भने।

बाढी, पहिरोबाट शिवपुरी र लिखु गाउँपालिकाको विभिन्न बस्तीका जोखिममा परेका घरपरिवार र क्षति पुगेका भौतिक संरचनाको अवलोकनपश्चात् आगामी दिनमा समयमै पूर्वतयारीमा जोड दिन सञ्चारमन्त्री  तिमिल्सिनाले मातहतलाई निर्देशन दिए।

शिवपुरी गाउँपालिका–५ स्थित खनेखर्कमा वीरबहादुर लामाको घरगोठमा पहिरोले जोखिम पुर्‍याएको थियो भने मध्यपहाडी लोकमार्गको पक्की पुलमा क्षति पुर्‍याएको थियो ।

लिखु–१ स्थित खहरे खोलामा आएको बाढीले स्थानीयस्तरमा पुर्‍याएको जोखिमसहित कृषिबालीमा पुगेको क्षतिको अवलोकनपश्चात् प्रभावितलाई न्याय पुग्ने गरेर संयुक्त सम्बोधन गरिने उनले प्रतिबद्धता जनाए। रासस