काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधिसभामा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिने भएका छन्।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले सीमा, राष्ट्रियता, सरकारको कामकारबाही र कार्यशैली लगायतका विषयमा प्रश्न गर्ने भएका छन्। प्रतिनिधिसभा सचिवालयका अनुसार प्रधानमन्त्रीलाई सोधिने प्रश्नहरू तयार भइसकेका छन्। तर प्रश्नको विषय भने कार्यक्रम सुरु भएपछि मात्रै सार्वजनिक हुने गरी व्यवस्थापन गरिएको छ।
सचिवालयका अधिकारीहरूले प्रश्नहरू पहिले नै सार्वजनिक नगर्नुको उद्देश्य प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई थप जीवन्त र प्रभावकारी बनाउनु रहेको बताएका छन्। स्रोतका अनुसार सांसदहरूले विषयकेन्द्रित भएर प्रश्न दर्ता गराएका छन्।
सभामुख डीपी अर्यालले प्रधानमन्त्रीसँग प्रश्न गर्न इच्छुक सांसदलाई भदौ ५ गतेभित्र प्रश्नको विषय दर्ता गर्न समय दिएका थिए। सोहीअनुसार ११ जना सांसदले प्रश्न दर्ता गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंह, नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरुङ, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेशसिंह ठगुन्ना, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओली रहेका छन्।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न गर्न प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ। नियमावलीअनुसार सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा यस्तो कार्यक्रमका लागि निर्धारण गर्न सक्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार सभामुख अर्यालले बुधबारको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखेका हुन्। त्यस्तै, नियम ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि प्रश्नको विषय लिखित रूपमा सभामुखलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।




प्रतिक्रिया